काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिने बताएका छन् ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य अर्पण गरिने परम्पराले जीवनको गहिरो दर्शन सिकाउने बताएका छन् ।
उनले सूर्यदेव र छठी माताको आराधना गरी मनाइने यस पर्व परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामनासँग जोडिएको उल्लेख गरेका छन् ।
चार दिनसम्म मनाइने छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य अर्पण गर्ने परम्परा रहेको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै छठ पर्वले सकारात्मक ऊर्जा प्रदान गरी सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
उनले सूर्यदेव र छठी माताको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् भन्दै मैथिली भाषामा समेत छठ पर्वको शुभकामना दिएका छन् ।


