काठमाडौँ । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गर्नेदेखि भोटेकोशी बाढी प्रभावितका लागि चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्नेसम्मका सात निर्णय गरेको छ ।
मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन उद्धार र राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट शीघ्र ऋण सुविधा अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण पनि सरकारले स्वीकार गर्ने भएको छ ।
बैठकले देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सरकारले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०) स्वीकृत गरेको छ। ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ पनि मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएका छन् ।
यी हुन् मन्त्रिपरिषद्का सात निर्णय :
१- प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा मङ्सिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।
२- भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने।
३- अन्तर्राष्ट्रिय मुद्रा कोषबाट शीघ्र ऋण सुविधा अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
४- देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने ।
५- राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०) स्वीकृत गर्ने ।
६- ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ स्वीकृत गर्ने।
७- राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने ।


