दाङमा कोरोना परीक्षणको नतिजा किन यकिन हुँदैन ? सुचना दिन नै अलमल हुन्छ सम्बन्धित निकाय – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा कोरोना परीक्षणको नतिजा किन यकिन हुँदैन ? सुचना दिन नै अलमल हुन्छ सम्बन्धित निकाय

    मा प्रकाशित

 

विवेक खड्का

दाङ,१८ भदौ ।
दाङमा कोरोना परीक्षणको नतिजा के भएको हो भन्‍ने यकिन गर्न अहिले निकै सकस भएको छ । सम्बन्धित पालिकाबाट संकलित स्वाब परीक्षणका लागि पठाइएको स्वाबको नतिजा प्रकाशन गर्दै आएको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले केन्द्रमा नतिजा पठाउने गरेको छ । तर नतिजाबारे सम्बन्धित पालिकालाई समेत जानकारी नगराउँदा नतिजा के भएको हो भन्नेबारे यकिन गर्ने मुस्किल परेको हो । सुचना दिन नै सम्बन्धित निकाय अलमलमा पर्छ । सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरुको फोन नै रिसिभ हुँदैन । यद्यपि फोकल पर्सनहरुले सुचना सम्प्रेषण गर्दै आएका छन् । सम्बन्धित निकायबाट फोकल पर्सनसम्म पनि सुचना ढिलै पुग्ने गरेको पाइन्छ ।

मंगलबार पनि यस्तै भयो । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरबाट पठाइएको स्वाबको नतिजा आउँदा ५ जनामा कोरोना पोजिटिभ देखियो । त्यसमा २५० जनाको स्वाब परीक्षण गर्दा राप्ती प्रादेशिक अस्पतालका चारजना र एकजना घोराहीका व्यक्तिमा कोरोना देखियो । तर अरुको नतिजा के भएको हो यकिन गर्नै मुस्किल पर्‍यो ।

प्रतिष्ठानको कोरोना जाँच प्रयोगशालामा गरिएको स्वाबको नतिजा पत्ता लगाउन परीक्षणका लागि पठाएका पालिकाको स्वास्थ्य शाखा प्रमुखलाई सम्पर्क गर्दा कोही सम्पर्कमा आएनन् भने कोहीले यसबारे आफू नै अनभिज्ञ भएको जवाफ दिए । समयमै सही, तथ्य र विश्वसनीय सूचना प्रवाह गरेर समुदाय स्तरबाट संकलन गरिएका स्वाबको नतिजा दिएर कोरोना रोकथाम गर्न सहयोग गर्नुपर्नेमा ढिलो गरी दिएको सूचनाको कुनै अर्थ रहँदैन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परीक्षण गर्ने र त्यसको नतिजा सम्बन्धित पालिका वा संस्थालाई नदिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्रै नतिजा पठाउन सुरु गरिएपछि भएको अन्योलले सूचना संकलनमा पनि सञ्‍चारमाध्यमलाई समस्या थपिएको छ । यस सम्बन्धमा प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले मन्त्रालयको निर्देशनबमोजिम काम गरिएको बताए । उनले केन्द्र सरकारले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई जानकारी गराउने र त्यहीँबाट कोरोनाको नतिजा थाहा हुने बताए ।

तर केन्द्रले प्रदेशलाई जानकारी गराउन समय लाग्ने हुँदा प्रदेश सरकारले दैनिक अध्यावधिकमा गरेको ढिलाइले समुदाय स्तरबाट संकलन गरिएका स्वाबको यकिन विवरण पाउन झन्झटिलो बनेको छ । रजिस्ट्रार प्याकुरेलले केन्द्रलाई पठाएको विवरणको जानकारी सम्बन्धित पालिका वा संस्थालाई दिन नमिल्ने समेत प्रस्ट पारेका छन् ।

गएराति अबेर मात्रै निकै प्रयासपछि यकिन गर्दा दाङमा हिजो १७ जनामा कोरोना संक्रमण भएको देखिएको छ । जसअनुसार प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा १२ जना, भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमित संख्या १७ पुगेको हो ।

तर स्वास्थ्य कार्यालयले तुलसीपुरका ५ र घोराहीका १ जना गरी ६ जनालाई मात्रै कोरोना संक्रमण पुष्टि भएको भनी तथ्यांक अध्यावधिक गरेको छ । निकै प्रयासपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग लिएको स्वाबको जानकारी अनुसार घोराही १४ का २२ र ४६ वर्षीया महिला, ५२, ५९ र ६५ वर्षीय पुरुषमा, वडा नम्बर १५ का १५ वर्षीया एक महिला, यस्तै २१, ३०, ३३, ५० र ५६ वर्षीय पुरुषमा कोरोना देखिएको छ । यस्तै, वडा नम्बर १० का ३३ वर्षीय पुरुषमा कोरोना देखिएको छ । घोराही १४ मा कोरोना देखिएको ५ जना एकै परिवारमा सदस्य रहेको बताइएको छ ।

उता, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट संकलन गरिएको २५० जनाको स्वाब बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स, एकजना सवारी चालक, कन्ट्याक ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा तीनजनामा कोरोना देखिएको हो ।

जसअनुसार तुलसीपुर ५ की ३९ वर्षीया स्टाफ नर्स, सोही वडाकै ३४ वर्षीय सवारी चालक छन् । कन्ट्याक ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमति हुनेमा समुदाय स्तरका तुलसीपुर ५ का २४ र ४० वर्षीया महिला छन् ।

यस्तै, बिरामी कुरुवा घोराही १ की ४२ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । यसरी हेर्दा जिल्लामा कोरोना संक्रमित संख्या ८०१ पुगेको छ । तीमध्ये ६९८ जना निको भई घर फर्किइसकेका छन् । सक्रिय संक्रमितको विभिन्‍न आइसोलेसनमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्