नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी – Kanika Khabar
Monday, July 27Nepali News Portal

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

    मा प्रकाशित

काठमाडौं/ नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ।
मन्त्रालयका अनुसार डा.रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ।

यसैबीच,मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था विद्यमान रहेकाले कानून हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ।
मन्त्रालयले स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही अघि बढाउन आग्रह गरेको छ। साथै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न अनुरोध गर्दै अस्पतालमा सुरक्षित र निर्भय वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ।

मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै स्वास्थ्य संस्थामा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी रहेको बताउनुभएको छ। यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी तथा प्रशासनिक कदम प्रभावकारी रूपमा अघि बढाइने उहाँको भनाइ छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्