रोल्पामा अनिवार्य क्वारेन्टाइन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रोल्पामा अनिवार्य क्वारेन्टाइन

    मा प्रकाशित

कनिका डेस्क
बैशाख २४, दाङ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणबाट बच्नका लागि नेपालले पनि आफ्नै रणनीति तय गरेको छ । सरकारले ७७ वटै जिल्लालाई निर्देशन पनि दिइसकेको छ । सबै जिल्लाको स्थानीय प्रशासन त्यहाँस्थित स्थानीय निकाय तथा सरोकारवाला पक्षसँग परामर्श गर्दै जारी लकडाउनलाई प्रभावकारी बनाउन तथा कोभिड १९ को सङ्क्रमणबाट सुरक्षित रहन र राख्न लागिपरेका छन् ।

दाङको छिमेकी जिल्ला रोल्पाले पनि सरकारबाट जारी निर्देशनलाई आधार बनाएर आफ्नै रणनीति तय गरेको छ । जिल्लाबाहिरबाट जिल्लाभित्र भित्रनेहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न पर्ने व्यवस्था रहेको छ । भारत तथा तेस्रो मुलुकबाट आएका मात्र नभएर अन्य जिल्लाबाट आएका समेतले क्वारेन्टाइनको समय पूरा गर्नुपर्ने छ ।

कनिका खबरसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय रोल्पाको प्रमुख जिल्ला अधिकारी लक्षमण ढकालले भने, ‘‘जिल्लाभित्र भित्रिने सबैलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेका छौँ । यहाँका स्थानीय निकायसँगको सहकार्यमा जिल्ला प्रवेश गर्ने स्थानमा क्वारेन्टाइनको व्यवस्था गरी व्यवस्थापन गर्दै आएका छौँ । क्वारेन्टाइनको यथेष्ट व्यवस्थापन गर्न सकेका कारण हामीलाई गाह्रो भएको छ ।’’ प्रजिअ ढकालले थपे, ‘‘ अहिले रोल्पामा आइसोलेसनमा दुई जना बिरामी रहेका छन् । आज क्वारेन्टाइनमा दुई हजार १५ जना रहेका छन् भने आज नै नौ सय जाना क्वारेन्टाइनको बसाइँ सकेर घर फर्केका छन् । हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ८ हजार १ सय ५३ जना रहेका छन् ।’’

लामोसमय लकडाउन हुँदा जनजीवन कष्टकर बन्दै गएको प्रजिअ ढकालले बताए । रोगसँग लडिरहँदा भोक पनि त्यत्तिकै चुनौतिका रुपमा देखिएको बताउँदै ढकालले भने, ‘‘ राहतको कार्यक्रमलाई पनि सकेसम्म प्रभावकारी रुपमा अगाडि बढाएका छौँ । स्थानीय निकाय, सहयोगी संघसंस्था तथा स्थानीय व्यापारीहरुको सहयोगमा एकद्वार प्रणालीबाट राहत वितरण कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ ।’’ काम गरी खाने वर्ग घरमै बस्ता उनीहरुलाई पनि समस्यामा भएको ढकालले बताए । साथै ढकालले थपे, ‘‘नेपाल सरकारको नीति अनुसार नै विकास निर्माणका कार्यहरुलाई खुकुलो बनाउँदै लगेका छौँ, जसले विकास निर्माणका काम विस्तारै अगाडि बढाउन पनि मद्दत गरेको छजसले विकास निर्माणका काम विस्तारै अगाडि बढाउन पनि मद्दत गरेको छ ।’’ अहिले रोल्पामा मानवीय कर्मका अत्यावश्यक कर्महरु जुन यही समयमा नै गर्न पर्ने हुन्छन् त्यस्ता काम बढीमा ५ जनाको उपस्थितिमा गर्न अनुमति दिइएको छ । यद्यपि यस्ता कार्यभित्र विवाह, पूजा, ब्रतबन्ध परेका छैनन् ।

रोल्पा जिल्लामा अहिले सुलिचौर, होलेरी र लिवाङ गरेर २३ बेडको मात्र आइसोलेसन रहेको छ । लिवाङ अस्पतालमा १७, होलेरीमा ४ र सुलिचौरमा २ बेड गरी २३ बेडको आइसोलेसन भएको प्रजिअ ढकालले जानकारी दिए । स्वास्थ्य उपचारमा देखिएको समस्या बारे बताउँदै ढकालले भने, ‘‘हामीले बाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने नियमन गरेका छौँ । तर, प्रशस्त मात्रामा क्वारेन्टाइन छैनन् । क्वारेन्टाइनको अवस्था र्नै हाम्रो मुख्य समस्या भइरहेको छ । क्वारेन्टाइन त्यति सुविधाका रहेका छैनन् , स्कुल तथा सामुदायिक भवनमा भुइँमा ओछ्यान लगाइएको छ, बेड छैनन् । पानी परिरहेको छ, त्यहाँ बसेका मानिसलाई चिसोबाट जोगाउने हाम्रो मुख्य चुनौति बनेको छ ।’’ अब विस्तारै यो समस्या पनि हल हुँदै जाने अपेक्षा गरेको बताउँदै ढकालले भने ‘‘ आज मात्रै क्वारेन्टाइनबाट घर गएका मानिस ९ सय रहेका छन् भने क्वारेन्टाइनमा आएका मानिस १३ जना रहेका छन् । यो सङ्ख्याले अब कही दिनमा केही सहजता लिन्छ ।’’ क्वारेन्टाइनमा बसेकाले आरडिटी परीक्षणको अपेक्षा गरेको बताउँदै ढकालले भने, ‘‘ यो राष्ट्रको नै समस्या हो, क्वारेन्टाइनमा बसेकाले आरडिटी परीक्षणको अपेक्षा गरेका हुन्छन् तर त्यो सेवा हामीले दिन सकेका छैनौँ । ’’ साथै अर्को समस्याका बारेमा ढकालले भने, ‘‘ हामी नागरिकलाई सुरक्षित राख्नका लागि तत्तपर छौँ, हाम्रो तत्परतामा नागरिकको साथ र सहकार्य जरुरी रहन्छ तर केही मानिसमा आत्मअनुशासनको अभाव हुँदा पनि सङ्क्रमणले केही समस्या पार्छ कि भन्ने डर रहेको छ । ’’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्