कनिका खबर
भदौ २४, दाङ ।
नेपाली काङ्ग्रेसको फागुनमा तय गरिएको महाधिवेशन नहुने निश्चित भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बिपीजयन्तीका अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा आगामी फागुनमा लागि तय भएको महाविधेशन नहुने निश्चित भइसकेको बताएका हुन् ।
नेता सिटौलाले आगामी फागुनमा तोकिएको महाविधेशनको कार्यतालिका कोरोनाका कारण प्रभावित भइसकेको भन्दै सदस्यता वितरण प्रभावित भएपनि तोकिएको मितिमा महाविधेशन नहुने स्पष्ट भएको बताए । छिटै केन्द्रीय समितिको बैठक बोलाएर महाविधेशनको अर्को कार्यतालिका सार्वजनिक गर्नुपर्ने समेत उनले बताए ।
सरकारले जनअभिमतअनुसार काम गर्न नसकेको भन्दै नेता सिटौलाले कांग्रेसभित्रको विवाद समाधानका लागि नेतृत्वले काम गर्नुपर्ने बताए ।
‘सबै एकठाउँमा बसेर समीक्षा गर्ने समय भयो । देशमा कम्युनिष्ट सरकार छ, त्यसको मुल्याङ्कन गर्दा नेता कार्यकर्ताको स्वार्थसिद्ध गर्न लागेको छ । जनताको हितमा सरकारले कुनै काम गर्न सकेको छैन,’ उनले भने ।
विदेशमा रहेका नेपाली नागरिक कोरोनाको त्रासमा रहेको र नेपाल आउन चाहनेलाई पनि सरकारले उद्धारको पहल नगरेको भन्दै नेता सिटौलाले सरकारको तत्कालै ध्यानाकर्षण गराउनुपर्ने बताए ।
बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेसले तीन दिनको कार्यक्रम अन्तर्गत पहिलो दिन बीपी बिचार र नेपालको समुन्नतीको मुल बाटो विषयक कार्यक्रम आयोजना गरेको हो ।