काङ्ग्रेसले बनायो अर्थतन्त्र केन्द्रित विशेष समिति – Kanika Khabar
Sunday, March 16Nepali News Portal

काङ्ग्रेसले बनायो अर्थतन्त्र केन्द्रित विशेष समिति

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २५, दाङ ।
विश्व महामारीको रुपमा देखिएको कोभिड १९ का कारण विश्वको अर्थतन्त्रमा नै विचलन आउने भएको छ । नेपालमा कोभिड १९ को असर अर्थतन्त्रमा पर्ने निश्चित छ । नेपालमा पर्ने अर्थतन्त्रको असरका बारेमा अध्ययन तथा ह्रास अर्थतन्त्रको विकल्पका लागि प्रमुख प्रतिपक्षी नेपाली काँङ्ग्रेसले ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको छ । केन्द्रीय समितिको बैशाख १७ मा सम्पन्न बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति श्री शेरबहादुर देउवाले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेका हुन् ।

विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्री भएका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरेकाहरु सो समितिमा रहेका छन् । १५ सदस्यीय समितिको संयोजकमा पुर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत रहेका छन् भने सदस्यहरुमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, पृथ्वीराज लिगल, डा. शंकर शर्मा, जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले रहेका छन् ।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडलले जानकारी गराएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्