कोरोनाले मानसिक समस्याको डर, सचेतनासँगै मनोपरामर्श आवश्यक – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोनाले मानसिक समस्याको डर, सचेतनासँगै मनोपरामर्श आवश्यक

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २६, दाङ ।
कोरोना संक्रमणको खतरा बढेपछि सरकारले ‘लकडाउन’ लागु ग¥यो । कोरोना संक्रमणबाट बच्नका लागि सरकारले गरेको लकडाउनले स्थिति निकै ‘भयावह’ रहेको आशंका सहित जनमानसमा त्रास उत्पन्न हुनु स्वाभाविकै थियो । यही बिचमा कोरोना संक्रमति भेटिनुले कोरोनाको त्रासदी झनै बढाइदियो । भलै १९ जना संक्रमित निको भएर घर फर्किएको सुखद् सञ्चारले केही राहत पैदा गरिदियो । तर दाङका नागरिकहरुलाई यो सञ्चारले उत्पन्न गराएको खुशी भन्दा नेपालगन्जको स्थितिले झनै डर पैदा गरिदियो । सीमा साँध जुधेको जिल्ला नेपालगञ्जमा २३ जना कोरोना संक्रमित फेला परेका छन् । नेपालगन्जमा कोरोना संक्रमतिको उच्च दरले ‘दाङलाई अछुतो राख्न सक्दैन’ भन्ने त्रासदी अहिले जिल्लामा व्याप्त बनेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाको संक्रमण भएपछि ज्यानै जान्छ भन्ने मानसिकता आमनागरिकमा पैदा भएको छ । जुन मानसिक रोगको अर्को खतराका रुपमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख, सुनिता पौडेलले वताईन् । ‘कोरोना लागेपछि ज्यानै जान्छ भनेर नागरिकहरु अत्तालिएको अवस्था छ, कतिपय त कोरोनाको संक्रमण हुने डरले भाग्ने सम्मका उदाहरण पनि जिल्लामा छन्,’ उनले भनिन् ,‘कोरोना संक्रमणको त्रासदीले निम्त्याएको यो परिस्थितिले भोलिका दिनमा मानसिक रोगको बिकास हुने खतरा पनि देखिन थालेको छ ।’
उनका अनुसार छिमेकी जिल्ला बाँकेमा कोरोनका बिरामीहरु बढेपछि जिल्लामा मानसिक त्रास अधिक बढेको छ । ‘बिरामीहरु निको हुने क्रम बढ्दै जान थालेपछि यो त्रास केही कम भएको त थियो,’उनले भनिन् ‘तर नेपालगञ्जमै कोरोना संक्रमणका धेरै बिरामी भेटिएपछि त्यसको मानसिक असर दाङका नागरिकहरुलाई परेको छ ।’ घरभित्रको बसाइँ, दैनिक क्रियाकलापहरु बन्द हुनु तथा कोरोना संक्रमणको एकोहोरो त्रासले मानसिक असर पार्न थालेको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले जिल्लामा मनोपरामर्शको नितान्त खाँचो औँल्याएको छ । यसका लागि सरकारी तवरबाटै कार्यक्रम चलाईनु पर्ने स्वास्थ्य कार्यालयको भनाई छ । ‘कोरोना संक्रमण भएपछि ज्यानै जान्छ भन्ने एकोहोरो सोँचले धेरै नागरिकहरु डराईरहेको अवस्था छ,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पौडेलले भनिन् ‘तर यसको संक्रमणबाट जोगिनका लागि अधिकतम सचेतना अपनाउनु पर्ने सुझाव सहित, यसको संक्रमण भैहालेमा पनि आत्तिनु हुँदैन, निको हुन्छ भनेर मनोसामाजिक परामर्श दिनु नितान्त जरुरी देखिएको छ ।’
कोरोनाको महामारीको त्रासबाट केही हद सम्म मुक्त गर्नका लागि आम नागरिकहरुलाई कोरोना सोँचबाट टाढा राख्ने खालका क्रियाकलापहरु गराईनु जरुरी रहेको स्वास्थ्य कार्यालय वताउँछ । ‘बढी त्रासमा रहेर मानसिक समस्या देखि थालेका यस्ता नागरिकहरुलाई कोरोनाबाट ध्यान मुक्त गर्ने खालका गतविधिहरु जस्तै योग, ध्यान जस्ता क्रियाकलापहरुमा सहभागी गराईनु पर्ने देखिन्छ,’ उनले भनिन् । कोरोना त्रासको मानसिक असरको जोखिम बृद्धबृद्धा तथा बालबालिकाहरुमा बढी देखिन थालेको छ ।
कोरोना त्रासमा रहेका नागरिकहरुलाई मनोसामाजिक परामर्श दिनका लागि छुट्टै ‘एक्सन’ नथालिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्वास्थयकर्मीहरुले आफ्नो तर्फबाट गरिरहेका छन् । जिल्लाको स्वास्थ्य अवस्था बुझ्न ग्रामीण तहसम्म पुग्ने स्वास्थ्य कार्यालयको टोलीले त्यहाँ रहेका नागरिकहरुलाई कोरोनादेखि नआत्तिन सुझाव दिईरहेका छन् । ‘हामीहरुले हाम्रो तर्फबाट नागरिकहरुलाई कोरोनाबाट जोगिने उपायबारे सुसुचित गर्नुका साथै कोरोनादेखि नआत्तिन मनो परामर्श पनि गरिरहेका छौँ,’ स्वास्थ्य कार्यालय प्रमुख पौडेलले भनिन् ।
यसैबिच जनस्वास्थ्य कार्यालयले मानसिक रोग विशेषज्ञ चिकित्सक नै यो कार्यका लागि खटिनु पर्ने भन्दै जिल्लामा मानसिक रोग विशेषज्ञ चिकित्सक पहिचान ग¥यो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै एकजना विशेषज्ञ चिकित्सक रहेको र ती चिकित्सक पनि केही दिन अघि मात्रै स्वास्थ्य मन्त्रालयमा तानिएको प्रतिष्ठान प्रशासनले जनाएको छ । यो प्रतिष्ठानमा रहेकी मनोरोग विशेषज्ञ डा. सुनैना यादवलाई मन्त्रालयले तानेको हो । ‘अहिले कोरोनाको त्रासका कारण धेरै नागरिकहरुमा मानसिक समस्याको जोखिम रहेको छ,यसका लागि विशेषज्ञ चिकित्सकको आवश्यक्ता रहन्छ,’ प्रतिष्ठान प्रशासनले भन्यो ‘तर यस्तो कठिन अवस्थामा पनि प्रतिष्ठानमा रहेका चिकित्सकलाई मन्त्रालय तान्ने काम गरियो ।’ चिकित्सक तानिएपछि प्रतिष्ठानमा उपचार गर्दै आएका मानसिक समस्या भएका बिरामीहरुको उपचार समेत प्रभावित भएको प्रतिष्ठानले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्