कनिका खबर
असोज ९, दाङ ।
कोरोना सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ सरकारले चाडपर्वको समयमा नेपाल र भारतबीच हुने छोटो अवधिको आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको आज शुक्रबार बसेको वैठकले कोरोना सङ्क्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको केन्द्रको वैठकले नेपाल र भारत बीचका तोकिएका सीमा नाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल प्रवेशको व्यवस्था गर्ने निर्णय गरेको छ । भारतबाट आफ्नो घर जानका लागि आउने नेपाली र भारत जाने भारतीयलाई भने रोकावट हुने छैन ।
भारतमा तीब्र रुपमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण चाडबाडको समयमा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीहरुलाई रोक्नका लागि कोरोना संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको हो । यस्तै लक्षण देखिएका र स्वास्थ्य समस्या भएका कोरोना सङ्क्रमित बढेपछि उनीहरुको उपचारका लागि बुटवल र दाङमा अक्सिजन थेरापी तत्काल शुरु गर्ने निर्णय पनि वैठकले गरेको छ । प्रदेश ५ सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गरेको छ ।