कोरोना भाइरस नेपालः को हुन् पर्साका ‘कोभिड वारियर्स’ र के गर्छन् उनीहरू – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना भाइरस नेपालः को हुन् पर्साका ‘कोभिड वारियर्स’ र के गर्छन् उनीहरू

    मा प्रकाशित

असोज ९ ।

वीरगन्ज महानगरपालिका-८ मा केही दिनअघि बिहान ८ बजेतिर लाउडस्पीकर बोकेका युवा, प्रहरी, सञ्चारकर्मीसहितको समूहले कोरोनाभाइरस सङ्क्रमित, तिनका परिवार र छिमेकीसँग कुरा गरिरहेको थियो।

केही युवाले कोरोनाभाइरससम्बन्धी जनचेतनामूलक पर्चा-पम्प्लेट बाँडिरहेका थिए भने केहीले कोरोनाभाइरसलाई लिएर अनावश्यक रूपमा त्रसित नहुन सम्झाइरहेका थिए।

“तपाईँ सङ्क्रमित हो कुनै अपराधी होइन, कसैसित डराउनुपर्ने अथवा लाज मान्नुपर्ने कुरा छैन। कुनै सहयोग चाहिएमा हामीहरूलाई यो नम्बरमा सम्पर्क गर्नुहोला,” लाउडस्पीकरमा एक जनाले भनिरहेका थिए।

कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका व्यक्तिहरूले बनाएको ‘कोभिड वारियर्स’ नामक समूहले सङ्क्रमितहरूको घरघरमै पुगी आवश्यक जानकारी दिने अभियान थालेको छ।

सहजीकरणको भूमिका

होम आइशोलेशनमा बसेका सङ्क्रमितकहाँ पुगेर उनीहरूको हौसला बढाउनुका साथै सङ्क्रमितलाई सहयोग गर्न छिमेकीलाई पनि समूहले आग्रह गर्दै आएको छ।

कोरोनाभाइरस सङ्क्रमितलाई समाजमा पुनर्स्थापित गर्न चुनौती देखिएको र लक्षण नदेखिएकालाई पनि होम आइशोलेशनमा बस्न असहज भइरहेको अवस्थामा सहजीकरणका लागि पहल थालेको समूहमा आबद्ध भएकाहरू बताउँछन्।

सङ्क्रमित व्यक्तिहरूको हौसला बढाउन र सङ्क्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने उद्देश्यका साथ काम गरिरहेको ‘कोभिड वारियर्स’ अर्थात् कोभिड विरुद्धका योद्धाहरूले जनाएका छन्।

त्यसमा आबद्ध व्यक्तिहरूले प्रत्येक दिन सङ्क्रमितहरूको घरघरमै पुगी अनुभव साट्ने गरेका छन्।

समूहका संयोजक नवराज फुयाल भन्छन्, “म आफैँ सङ्क्रमित हुँदा सङ्क्रमणले भन्दा समाजले हेर्ने दृष्टिकोणले मलाई चिन्तित बनाएको थियो। साथीभाइ तथा सहकर्मीहरूले हौसला बढाए पनि टोलछिमेकका मानिसले साथ दिएनन्।”

पर्साको ग्रामीण भेगका अधिकांश सङ्क्रमितले यो समस्या भोग्नुपरेको छ। त्यसैले अरूले पनि यस्तो भोग्न नपरोस् भनेर प्रहरी, जनप्रतिनिधि, समाजसेवी लगायतलाई साथमा लिएर हामी सङ्क्रमितकहाँ हरेक दिन पुग्ने गरेका छौँ।”

होम आइसोलशनमा बस्दा समाजका मानिसले गरेको व्यवहारले ठूलो पीडा दिएको समूहमा आबद्ध अर्का युवा हेमन्त तामाङ बताउँछन्।

कोभिड सचेतना

तीतामीठा अनुभव

तर पछिल्लो समय मानिसहरूको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आउन थालेको उनको अनुभव छ।

“कोरोनाभाइरस सङ्क्रमित भन्नासाथ उनीहरूलाई दुर्व्यवहार गर्ने होइन। उनीहरूलाई माया, हौसला र सद्‌भावको खाँचो हुन्छ।” सङ्क्रमणमुक्त हुन उपचारसँगै हौसला बढाउन पनि जरुरी छ भन्ने महसुस भएर आफू अभियानमा लागेको स्थानीय विजय राउत बताउँछन्।

सङ्क्रमित हुँदा आफू र परिवारसँग गरिएको नराम्रो व्यवहार सम्झँदै उनी भन्छन्, “मेरो घरका कसैले कुनै सामान माग्न जाँदा छिमेकीले हप्काउने, बोल्नै छाड्ने, पैसा दिँदा पनि सामान दिन्नौँ भनेर फर्काउने गरेका थिए।”

आफू सङ्क्रमित भएदेखि छिमेकीले हालखबर नसोधेका र बोल्न समेत नमानेको स्टाफ नर्स नितु चौधरी बताउँछिन्।

तर अहिले सङ्क्रमित तथा तिनका छिमेकीलाई सचेत गराउने र सङ्क्रमितलाई केही पोषणयुक्त खानेकुरा वितरण गर्दा छुट्टै आनन्द महसुस हुने गरेको उनको भनाइ छ।

कोभिड सचेतना

के भन्छन् जनप्रतिनिधि?

स्थानीय जनप्रतिनिधिलाई समेत जिम्मेवार बनाउन उनीहरूलाई पनि साथमा लिएर अभियानलाई अघि बढाएको समूहका युवाहरू बताउँछन्।

वीरगन्ज महानगरपालिका-८ का वडा अध्यक्ष राजकिशोर भन्छन्, “वडामा क्वारन्टीनमा समेत व्यवस्थापन गर्न नदिएको तथा आफ्नै टोलमा सङ्क्रमितलाई छिःछिः दूरदूरको व्यवहार गर्ने गरिएको पृष्ठभूमिमा यो अभियानले सहयोग पुर्‍याएको छ।”

वडा नं ८ मा मात्र नभई पर्साका धेरैजसो स्थानीय तहलाई पनि सहयोग गरिरहेको र बिस्तारै मानिसहरूको सोचमा सकारात्मक परिवर्तन ल्याई पीडितलाई हौसला प्रदान गर्न सकिएको उनको दाबी छ।

सङ्क्रमित हुनेलाई हौसला र मनोबल बढाउने खालको व्यवहार आवश्यक रहेकाले मानिसहरूको सोचमा सकारात्मक परिवर्तन ल्याउन यो अभियान केही हदसम्म सफल भएको एक अभियानकर्मी कमल चौगाई बताउँछन्।

रोगसँगै सामाजिक सोचका कारण सङ्क्रमितहरू कमजोर हुने गरेको अवस्थामा यो अभियान सराहनीय भएको उनको बुझाइ छ।

सङ्क्रमितलाई आवश्यक परामर्श, नडराउन भन्दै हौसला दिनुका साथै सङ्क्रमितलाई माया र सद्‌भावका साथ हेर्न छरछिमेकमा आग्रह गरेको देखेपछि आफूमा छुट्टै ऊर्जा थपिएको वीरगन्जका एक सङ्क्रमितले खुशी व्यक्त गर्दै भने।

घरघरमै पुगी सङ्क्रमितलाई परामर्श दिने तथा प्लाज्मा पनि सहयोग गर्न शुरू गरिएको यो अभियान देशमै सम्भवतः पहिलो भएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको दाबी छ।

यसले समाजमा सकारात्मक सन्देश गएको भन्दै समूहसँगै आफू पनि हिँड्ने गरेको उनी बताउँछन्।

सङ्क्रमितलाई हेयको दृष्टिले हेर्न प्रवृत्तिविरुद्ध युवाहरूले सचेतनामूलक सन्देश बजाउँदै सङ्क्रमित रहेका टोलटोल पुगी स्थानीवासीलाई जागरुक गराउने काम पनि गर्दै आएका छन्।

योसँगै सङ्क्रमणबाट मुक्त भएपछि आफू पनि अभियानमा जोडिने प्रतिबद्धता सङ्क्रमितहरूले जनाउन थालेका छन्।

माधुरी महतोले बिबिसी नेपाली न्युजका लागि तयार पारेको रिपोर्ट
स्रोत बिबिसी

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्