दाङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको भन्दै राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिताका लागि आम नेपालीलाई अपिल गरेका छन्।
कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानका सन्दर्भमा अपिल जारी गर्दै प्रचण्डले महँगी, बेरोजगारी, युवा पलायन, किसान–मजदुरका समस्या तथा उद्यमी–व्यवसायीले भोगिरहेका कठिनाइलाई जनजीविकाका प्रमुख चुनौतीका रूपमा औँल्याएका छन्। ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको उनको भनाइ छ।
उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। साथै लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता, ट्रेड युनियन, विद्यार्थी संगठन, नागरिक अधिकार तथा लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप हुने प्रवृत्ति बढेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।
प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता र धर्मनिरपेक्षतासहितका ऐतिहासिक उपलब्धि तथा संविधानको संरक्षण अहिलेको प्रमुख दायित्व भएको उल्लेख गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीले विगतका काम, गल्ती र कमजोरीको इमानदारीपूर्वक समीक्षा गर्दै जनताको विश्वास पुनः बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले पार्टीलाई जनमुखी र रूपान्तरणकारी शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको आधार किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको तथा राजनीति नेतामुखी र केन्द्रमुखी बन्दै गएको यथार्थलाई समेत आत्मसात गर्नुपर्ने उनको भनाइ छ।
‘राष्ट्रिय जागरण अभियान’मार्फत् पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुग्ने तथा किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसङ्ख्यक, अपाङ्गता भएका नागरिक, शिक्षक, कर्मचारी, बुद्धिजीवी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्ने योजना रहेको अपिलमा उल्लेख छ।
अभियानका क्रममा जनताका समस्या, गुनासा, सुझाव र आलोचना संकलन गरी महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीका कठिनाइबारे तथ्य संकलन गरिने जनाइएको छ। प्राप्त समस्यालाई स्थानीय, प्रदेश तथा संघीय सरकारका सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि निरन्तर पहल गर्ने र त्यसको प्रगतिबारे जनतालाई जानकारी दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
अपिलमार्फत् प्रचण्डले देशका विभिन्न भागमा बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोज, उद्धार तथा राहतमा भएको ढिलाइप्रति गम्भीर आपत्ति जनाएका छन्।
विपद्का बेला नागरिकको जीवनरक्षा राज्यको पहिलो दायित्व भएको भन्दै उनले उपलब्ध सम्पूर्ण स्रोतसाधन, दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम परिचालन गर्न सरकारसँग माग गरेका छन्। प्रभावित नागरिकलाई तत्काल राहत, विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना तथा सडक, पुल, खानेपानी, सञ्चार र विद्युत्लगायत क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
समाजवादको आधार निर्माणमा जोड
प्रचण्डले देशका आधारभूत समस्याको दीर्घकालीन समाधान समाजवाद निर्माणको दिशामा अघि बढेर मात्र सम्भव हुने दाबी गरेका छन्। समाजवादलाई नारामा सीमित नराखी आर्थिक असमानता र शोषण अन्त्य, श्रमको सम्मान, शिक्षा–स्वास्थ्य र रोजगारीमा न्यायपूर्ण पहुँच तथा उत्पादनमुखी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणसँग जोड्नुपर्ने उनको भनाइ छ।
कृषि तथा उद्योगको आधुनिकीकरण, उत्पादन वृद्धि, राष्ट्रिय पुँजीको विकास, रोजगारी सिर्जना र स्रोतसाधनको न्यायपूर्ण वितरणलाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्। राष्ट्रिय स्वाधीनता र समाजवाद निर्माण एकअर्कासँग जोडिएको उल्लेख गर्दै आर्थिक परनिर्भरता घटाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
अभियानसँगै पार्टीको सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन, पार्टी एकताका बाँकी काम तथा प्रशिक्षण र संगठन सुदृढीकरणलाई तल्लो तहसम्म पुर्याउने योजना पनि अघि सारिएको छ।
“जनताको विश्वास भाषणबाट होइन, व्यवहार र कामबाट आर्जन गर्नुपर्छ” भन्दै प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई जनताका बीचमा विनम्रतापूर्वक पुग्न, आलोचना सुन्न र आफ्ना कमजोरी सच्याउन आग्रह गरेका छन्।
अन्त्यमा उनले किसान, मजदुर, युवा, विद्यार्थी, महिला, उत्पीडित समुदायसहित देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन्। साथै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजीवी, पेसागत समुदाय तथा निजी क्षेत्रलाई राष्ट्रिय हित र जनजीविकाका साझा सवालमा संवाद तथा सहकार्यका लागि अपिल गरेका छन्।
अपिलमा “संविधान र लोकतन्त्रको रक्षा गरौँ, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा एकजुट बनौँ”, “महँगी, भ्रष्टाचार, बेथिति र दण्डहीनताविरुद्ध आवाज उठाऔँ” तथा उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवाद निर्माणको आधार तयार पार्न आह्वान गरिएको छ।
संयोजक प्रचण्डले दशैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा शुभकामना पनि व्यक्त गरेका छन्।


