कर्णालीमा स्याउ उत्पादन घट्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

कर्णालीमा स्याउ उत्पादन घट्यो

    मा प्रकाशित

कनिका खबर
असोज १४, जुम्ला
कर्णालीमा यो वर्ष स्याउको उत्पादन घटेको छ । उत्पादन कम भएपछि बजारमा स्याउको मूल्य बढेको छ । अपेक्षा अनुसार स्याउ उत्पादन नभएपछि किसानले कोशेलीको रुपमा दिन पनि नपुगेको गुनासो गरेका छन् । उत्पादन नहुँदा आम्दानी पनि गुमेको किसानहरुकोे भनाइ छ । कर्णालीमा सबैभन्दा धेरै स्याउ जुम्लामा फल्छ । जुम्लामा गतवर्ष मात्र १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । तर योवर्ष जम्मा ५ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले उत्पादन घटेपछि यसपाली स्याउको मूल्य बढेकोे बताउनुभएको छ । जुम्लामा यसपाली प्रतिकिलो ए ग्रेडको स्याउको मूल्य १ सय ६०, बी ग्रेडको १ सय ५५ र सी ग्रेडको १ सय ५० रुपैयाँ तोकिएको छ । उत्पादन घटेका कारण स्याउको मूल्य अझ बढ्न सक्ने देवकोटाको भनाइ छ । त्यस्तै हुम्लामा गतवर्ष साढे १४ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यहाँ यो वर्ष उत्पादन आधा घटेको छ । त्यस्तै गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा पनि ७० प्रतिशत उत्पादन घटेको छ । स्याउ उत्पादन घटेपछि योवर्ष बाहिरी जिल्लामा स्याउ निर्यात नहुने जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख पञ्चलाल बुढाले जानकारी दिनुभएको छ । गतवर्ष तीन हजार दुईसय ९६ मेट्रिक टन स्याउ उत्पादन भएको डोल्पामा पनि यो वर्ष झण्डै चारसय मेट्रिक टन स्याउ मात्रै उत्पादन भएको कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले बताउनुभयो । कर्णालीका जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्लामा अर्गानिक स्याउ उत्पादन हुन्छ । तर योवर्ष भने झण्डै ७० प्रतिशतले स्याउ उत्पादन घटेको छ । स्याउको फूल फुल्ने समयमा असिना पानी पर्दा फूल झरेपछि उत्पादनमा कमी आएको हो । गत जेठ बैशाखमा परेको असिना र पानीका कारण स्याउ उत्पादन घटेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताउनुभएको छ । देवकोटाका अनुसार योवर्ष आफैमा स्याउ उत्पादन घट्ने बर्ष हो । जेठ बैशाखमा असिना पर्दा आधा उत्पादन घटेको हो । उत्पादन घटेपछि गत वर्षको तुलनामा स्याउको मूल्य बढेको हो । गतवर्ष किलोको ८० र ९० रुपैयाँमा बिक्री हुन्थ्यो भने योवर्ष १ सय ६० रुपैयाँसम्म पुगेको उहाँले जानकारी गराउनु भयो । उत्पादन घटेका कारण स्याउको मूल्य बढेको हो । स्याउको उत्पादन घट्दा व्यवसायिक किसान भने मर्कामा परेको उहाँको भनाइ छ । पछिल्लो समय जुम्लाका अधिकांश किसालने व्यवसायिक रुपमै स्याउ उत्पादन सुरु गरेका छन् । कर्णालीमा उत्पादित स्याउ सुर्खेत, नेपालगन्ज, पोखरा र काठमाडौं लगायतका सहरमा बिक्री हुने गरेको छ । स्याउ निर्यातका लागि सम्बन्धित जिल्ला कृषि विकास कार्यालयले कृषकलाई कार्टुन उपलब्ध गराउँदै आएका छन् । कर्णालीमा रेड डेलिसियस, गोल्डेन र चक्लेटी लगाएतका जातका स्याउको खेती गरिँदै आएको छ । गतवर्ष १५ सय मेट्रिक टन स्याउ उत्पादन भएको मुगुमा योवर्ष जिल्ला बाहिर निर्यात गर्नका लागि स्याउ छैन । उत्पादन घटेपछि जिल्ला बाहिर निर्यात गर्ने स्याउ नै नभएको जिल्ला कृषि विकास कार्यालयमा मुगुका प्रमुख पञ्चलाल बुढाले बताउनु भयो । स्याउ उत्पादन घटेका कारण सदरमुकाम गमगढीमा १० र १५ रुपैयाँ प्रति दानामा स्याउ बिक्री हुँदै आएको उहँले बताउनु भयो । सडक पुगेपछि किसानले स्याउ जिल्ला बाहिर पठाउन थालेका थिए । गतवर्ष ५० हजार रुपैयाँ आम्दानी गरेकी छायाँनाथरारा नगरपालिका ५ कार्कीबाडाका जगमाया भामले योवर्ष दुई हजार मात्रै आम्दानी हुने बताउनु भयो । यसपाली उत्पादन घटेपछि घरखर्च कसरी चलाउने भन्ने चिन्ता लाग्न थालेको उहाँले बताउनुभयो । त्यस्तै हालसम्म सडक सञ्जालमा नजोडिएको हुम्लामा पनि यसपाली प्रतिदाना १० रुपैयाँका दरले स्याउ बिक्री हुँदै आएको छ । जहाजबाट स्याउ निर्यात गर्दा महंगो पर्ने भएकाले दश रुपैयाँ दानाको स्याउ बिक्री गर्नु परेको सिमकोट गाउँपालिका वडा नम्बर ४ कि मालती शाहीले बताउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्