प्रदेश ५ को प्रदेशसभा बैठकमा यसरी भयो तोडफोड – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रदेश ५ को प्रदेशसभा बैठकमा यसरी भयो तोडफोड

    मा प्रकाशित

कनिका खबर
असोज २०, वुटवल

५ नम्बर प्रदेशको स्थायी राजधानी दाङको ‘भालुवाङ’ र ‘लुम्बीनी’ नामाकरण गर्नका लागि प्रदेश मन्त्रीपरिषद्ले सिफारिस गरेर प्रदेशसभामा पेस गरेको तेस्रो दिनमा हिजो (सोमबार) प्रस्ताव बारे छलफलका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । पहिलो बैठक सुरु नहुँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सांसद विरोधस्वरुप आआफ्नै ठाउँबाट उठ्न खाजेका थिए । तर सभामुख पूर्ण घर्तीले, ‘बैठकै सुरु भएको छैन ।’ भनेपछि उनीहरू बसे । बैठक सुरु भएर कार्यसूचीमा प्रवेश गर्न नपाउँदै विरोधमा काँग्रेस सांसद फेरि उठे । सभामुखले समय दिएपछि काँग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजनीतिक सहमतिबिना प्रदेशको नामाकरण र राजधानी तोक्न नहुने बताउनुभयो । लगतै काँग्रेस सांसदहरूले नाराबाजी गर्दै रोष्टमतर्फ गए । यो क्रम केही समय चलेपछि सभामुख घर्तीले बैठक करिब १ घण्टाका लागि स्थगित गर्नुभयो ।
फेरि बसेको दोस्रो बैठकमा भने विरलै देखिने दृश्य देखियो । बैठक सुरु गरेर कार्यसूचीमा लैजाने तयारी गर्दैगर्दा काँग्रेसका सांसदहरूले फेरि नाराबाजी सुरु गरिहाले । बैठकमा जरुरी महत्वको प्रस्ताव राख्ने भनेका २ सांसद नाराबाजीमै व्यस्त भएपछि प्रदेशको राजधानी र नामाकरण बारेको प्रस्तावमा छलफलका लागि सभामुख पूर्ण घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई अनुमति दिनुभयो । तर मन्त्री केसीलाई रोष्ट पुग्न धौधौ भयो । काँग्रेस सांसद्ले उहाँको हातमा रहेको प्रस्तावको पाठसहितको कागज खोस्न जोड बल गरेका भए पनि सफल भएनन् । जब मन्त्री केसीले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नामाकरण लुम्बिनी राख्ने प्रस्ताव छलफका लागि राख्नुभयो, रूपन्देही ४ (ख) बाट निर्वाचित काँग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गर्न थाल्नुभयो । काँग्रेस सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका वैजनाथ कलवार पनि तोडफोडमा उत्रनुभयो । काँग्रेसका महिला सांसद भने माइक निकालेर टेबुलमा ठटाइरहेका थिए । तोडफोडकैबीच प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्तावमाथि चलेको छलफलमा सांसदहरुले विचार राख्दै कतिपयले सरकारको प्रस्तावमा समर्थन जनाए । कतिपयले काँग्रेस सांसदले संसदमा देखाएको तोडफोडको निन्दा गरे । सांसदहरूले बोलिसकेपछि रोष्टमा आउनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेशको नामाकरण र स्थायी राजधानीका सम्बन्धमा अध्ययन गर्न गठित विज्ञ समितिका प्रतिवेदन सार्वजनिक गर्नुभयो । काँग्रेसको तर्फबाट संसदमा भएको तोडफोडविरुद्ध खेद प्रस्ताव पेस गर्दै उहाँले भन्नुभयो,‘सरकारले ल्याएको प्रस्तावले राजधानी र नाममा १२ जिल्लाकै नागरिकको भावना समेटिएको छ।’ बैठकअवघिभरि सभामुख पूर्ण घर्ती, मन्त्री कुलप्रसाद केसीलाई आक्रमणबाट जोगाउन मर्यादापालकले गरेको प्रयास भने हेर्न लायक थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्