राजधानीकै अस्पतालले गर्भवतीको जाँच गर्न छाडेपछि प्रसूतिगृहमा भिड – Kanika Khabar
Saturday, April 27Nepali News Portal

राजधानीकै अस्पतालले गर्भवतीको जाँच गर्न छाडेपछि प्रसूतिगृहमा भिड

    मा प्रकाशित

अर्जुन अधिकारी
असोज २६, काठमाडौँ ।

काठमाडौं जोरपाटीकी आठ महिनाकी गर्भवती कमला तामाङले नेपाल मेडिकल कलेज अत्तरखेलमा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी थिइन् । तर, चिकित्सकले राम्रोसँग जाँच गर्न छाडेपछि थप स्वास्थ्य परीक्षणका लागि उनी सिभिल अस्पताल पुगिन् । त्यहाँ पनि उही समस्या दोहोरियो । अस्पताल गएर बुझ्दा डेलिभरी गराउन नसक्ने भन्दै अन्तै रिफर गर्ने बताएपछि उनी थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन् ।

सात महिनाकी गर्भवती धादिङकी मुना लामाले पनि सिभिल अस्पतालमा नियमित स्वास्थ्य जाँच गराउँदै आएकी थिइन् । कोरोनाको संक्रमण बढ्दै जाँदा चिकित्सकहरू सम्पर्कमा आउन छाडे । ‘मेरो टिटी खोप पनि छुटेको थियो । खोप लगाउन र नियमित स्वास्थ्य जाँचका लागि सिभिल अस्पताल गएकी थिएँ,’ उनले भनिन्, ‘सिभिलले डेलिभरी गराउन नसक्ने बताएपछि प्रसूतिगृह आएकी हुँ ।’

राजधानीका अन्य अस्पतालले पनि कोरोना भाइरस संक्रमणका कारण गर्भवतीको नियमित स्वास्थ्य जाँच र सुत्केरी गराउन कम गरेका छन् । निजी तथा कतिपय सरकारी अस्पतालले समेत गर्भवतीलाई प्रसूतिगृह रिफर गर्न थालेका छन् । समन्वय नगरी धमाधम रिफर गर्दा प्रसूतिगृहमा गर्भवतीको भिड लाग्न थालेको छ । यसअघि स्वयंसेवा गर्न आउने संघसंस्था पनि अहिले आउन छाडेका छन् ।

गर्भवती तथा सुत्केरीको संख्या बढेपछि प्रसूतिगृहलाई व्यवस्थापनमा मात्रै होइन, सेवा प्रवाहमा समेत कठिनाइ भएको चिकित्सकहरू बताउँछन् । ‘निजी स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गराउँदासमेत पिसिआर परीक्षण गराइरहेका छन्,’ प्रसूतिगृहका कोभिड फोकल पर्सन डा. कीर्तिपाल सुवेदीले भने, ‘नेगेटिभ आउने सबैको उपचार गर्ने, तर पोजेटिभ आएको खण्डमा समन्वयविना थापाथली पठाउने गर्दा गर्भवतीको संख्या अत्यधिक बढेको हो ।’ कोरोनाको उच्च जोखिममा दीर्घरोगी र गर्भवती महिला छन् । उनीहरूको चाप बढेपछि जोखिम पनि बढेको उनले बताए ।

प्रसूतिगृहमा बेड पनि अभाव हुन थालेको छ । कोरोना संक्रमित गर्भवतीको पनि उपचार भइरहेको छ । डा. सुवेदीका अनुसार ८० जनाभन्दा बढी कोभिड पोजेटिभ बिरामीले सेवा लिएका छन् । उनीहरूमध्ये १० जनाको शल्यक्रिया र नर्मल डेलिभरी भएको छ । ‘निजीबाट अझै बढी गर्भवती रिफर भएर आउने गरेका छन्,’ डा. सुवेदीले भने, ‘त्यसैले तत्काल गर्भवती हेर्न छुट्टै सेन्टर स्थापना नगरे ठूलो दुःख पाउने अवस्था आउँछ ।’

प्रसूतिगृहलार्ई कोभिड अस्पताल भनिएको छैन । तैपनि अस्पतालले संकट आउन सक्ने भन्दै १० शय्या कोभिड बिरामीका लागि छुट्याएको छ । त्यसैमा कोरोना संक्रमित सुत्केरीको उपचार हुने गरेको छ ।

प्रसूतिगृहमा अहिले दैनिक पाँच सयजनाले ओपिडी सेवा लिँदै आएका छन् । अस्पतालकी सूचना अधिकारी रानु थापाका अनुसार अहिले पनि दैनिक ४५ जना सुत्केरी भइरहेका छन् । कोभिडका कारण आवतजावतमा देखिएको कठिनाइका बाबजुद पनि सेवा लिने घटेका छैनन् । बीचमा केही कम भए पनि अन्य अस्पतालले हेर्न छाडेपछि चाप बढेको उनले बताए ।

साउनदेखि प्रसूति सेवा लिने बढ्न थालेका छन् । यो क्रम आगामी महिनामा थप बढ्ने अनुमान छ । अस्पतालका अनुसार साउनमा ओपिडीमा एक हजार आठ सय ९१ जनाले सेवा लिएकोमा भदौमा चार हजार ४३ जना पुगेका थिए । त्यस्तै, २३ असोजसम्म पनि दुई हजार तीन सय ६१ जनाले ओपिडीबाट सेवा लिएका छन् ।

यो समयमा सामान्य रूपमा सुत्केरी हुनेको संख्या पनि बढेको छ । साउनमा एक हजार एक सय ७५ जना थिए भने भदौमा एक हजार दुई सय ६० पुगेका छन् । त्यस्तै, २३ असोजसम्म एक हजार ७७ जनाले सेवा लिएका छन् । प्रसूतिगृहमा ७० प्रतिशत सामान्य र ३० प्रतिशतमा शल्यक्रिया गरेर बच्चा जन्माइन्छ । गत वर्ष २२ हजार एक सय ४७ जना सुत्केरी भएका थिए ।

नयाँ पत्रिकाबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्