कनिका खबर
कार्तिक ३, काठमाडौं
राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा दण्डहिनताको अवस्था बढेको भन्दै अन्तरराष्ट्रियस्तरमा यसले मुलुकलाई फाइदा नपुग्ने बताएको छ । गैरन्यायिक हत्याका घटना बढेको भन्दै आयोगले दोषीलाई कारबाहीका लागि सरकार तयार नहुनु दुःखद् भएको टिप्पणी गरेको छ । गैरन्यायिक हत्या भएको भन्दै अनुसन्धानका लागि १४ वटा निवदेनको बारेमा अनुसन्धान जारी रहेको र सर्लाहीका कुमार पौडेल अनि २ जनाको मृत्यु हुने गरी भएको भक्तपुर घटना गैरन्यायिक भएको निष्कर्ष निकालेको छ । सीआईएनसँग कुराकानी गर्दै आयोगका प्रवक्ता बेद भट्टराईले भन्नुभयो, ‘पछिल्लो समय भक्तपुरमा भएको, कुमार पौडेल घटना लगायतका घटना यस्ता छन् । ती घटनाहरूमा आयोगले उजुरीको रुपमा ग्रहण गरेर अनुसन्धानको प्रक्रियामा राखिराखेको छ । नेपाल फेरि संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा अर्को तीन वर्षको लागि निर्वाचित भएका छौं, यो अत्यन्त खुशीको कुरा हो । हामीले विश्वको हरेक राष्ट्रमा मानव अधिकारको समिक्षा गर्नुपर्ने, त्यसमा प्रश्न उठाउनुपर्ने, त्यो हैसियतमा हामी अहिले निर्वाचित भएका छौं । यो एउटा नैतिक दवावको कुरा पनि हो ।’ प्रवक्ता भट्टराईका अनुसार केही दिनअघि सार्वजनिक भएको मानव अधिकार उल्लङ्घन गर्ने २ सय ८६ जनाको सूचीमा परेकाहरुले आफू अन्यायमा परेको भन्दै प्रमाणसहित पुनरावेदन पनि गर्न सक्नेछन् । पुनरावेदनपछि आवश्यक अनुसन्धान गरी थप निर्णयमा पुग्ने आयोगले जनाएको छ ।
मा प्रकाशित


