कनिका खबर
कात्तिक ५, दाङ
युएईमा जारी १३ औं संकरणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा मंगलबार भएको खेलमा पन्जाबले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पन्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दिपक होडाले अविजित १५ रन बनाउनुभयो । यस्तै क्रिस गेलले २९ रन जोड्दा कप्तान केएल राहुलले १५ रन बनाउनुभयो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेल्नुभयो । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । उहाँले आईपीएल इतिहासमा लगातार दुई शतक बनाउने खेलाडीको कीर्तिमान समेत बनाउनुभएको छ । यो जितसँगै पन्जाबले दिल्लीसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो । जितपछि पन्जाबले १० खेलमा ८ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौ स्थानमा समेत उक्लिएको छ । दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीले १० खेलमा १४ अंक जोडेको छ । दिल्ली शीर्ष स्थानमा यथावत रहेको छ ।
मा प्रकाशित


