दाङ, असार १३ । विद्यालय शिक्षालाई समयानुकूल, प्रविधिमैत्री र रूपान्तरणमुखी बनाउने उद्देश्यले “Leading the Shift: Redefining Pedagogy, AI, and School Culture” विषयक प्रशिक्षण कार्यक्रम आज दाङको देउखुरीमा सम्पन्न भएको छ।
“Reimagine the Possibilities for Your School” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा विद्यालय शिक्षामा विकसित हुँदै गएको शिक्षण–सिकाइ पद्धति, कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, विद्यालयको संस्थागत संस्कृति तथा नेतृत्व विकासका विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा वैज्ञानिक, अनुसन्धानकर्ता तथा रूपान्तरणकारी शिक्षाका अभियन्ता डा. मिन प्रसाद खनालले बदलिँदो विश्व परिवेशमा विद्यालयहरूले परम्परागत शिक्षण पद्धतिभन्दा बाहिर निस्केर अनुसन्धान, नवप्रवर्तन र विद्यार्थीको सिर्जनशील क्षमतामा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, डा. जिवराज आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक अनुभवका आधारमा विद्यालयहरूलाई भविष्यका चुनौती र अवसरसँग जोड्न आवश्यक नेतृत्व, दृष्टिकोण र व्यवस्थापनका आयामहरू प्रस्तुत गर्नुभयो। उहाँले शिक्षामा परिवर्तन केवल प्रविधिबाट मात्र नभई सोच र संस्कृतिको रूपान्तरणबाट सम्भव हुने बताउनुभयो।
कार्यक्रमका अर्का प्रशिक्षक विष्णुप्रसाद ढकालले विद्यालय नेतृत्व, संस्थागत संस्कार र गुणस्तरीय शिक्षाको आधार निर्माणमा व्यवहारिक अनुभव साझा गर्नुभयो। उहाँले विद्यालयलाई केवल पढाइको केन्द्र नभई मूल्य, नवप्रवर्तन र जिम्मेवार नागरिक निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालय सञ्चालक, प्राचार्य, शिक्षक तथा शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमले शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता र आधुनिक शैक्षिक अभ्यासलाई विद्यालय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने बहसलाई थप सशक्त बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमलाई Smart IT Solution ले सहकार्य गरेको थियो भने कार्यक्रमको सहजीकरण चैतन्य पाठशालाका प्रिन्सिपल शुष्मा रेग्मीले गर्नुभएको थियो ।


