खेती गर्न छाडिएको जग्गामा अदुवा, पिडालु र बेसार खेती – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

खेती गर्न छाडिएको जग्गामा अदुवा, पिडालु र बेसार खेती

    मा प्रकाशित

हेमराज शर्मा
दाङ, बैशाख ३१ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं १ तेर्छेगाउँमा बँदेल र बाँदरले अन्नबाली खाएपछि खेती गर्न छाडिएको जग्गामा अदुवा, पिडालु र बेसार खेती शुरु गरिएको छ । चारैतिरबाट जंगलले घेरेको उक्त पहाडी भिरालो बस्तीका अधिकांश मानिसहरु आफ्नो जीवनयापनका लागि पुरानो बस्ती तेर्छेगाउँलाई छोडेर तराईमा झरेका छन् । शुरुमा तेर्छेगाउँमा २० घरपरिवारको भन्दा बढीको बस्ती थियो । उनीहरुले आफूलाई चाहिने अन्नपातको खेतीपाती पनि गर्दथे तर रातिमा जंगली जनावर बँदेल र बाँदरले उक्त खेती खाइदिएपछि गाउँलेहरुले खेती स्याहार्नै पाएनन् ।


परिवार जोड्नका लागि तेर्छेगाउँका अधिकांश युवा र पुरुषहरु रोजगारीका लागि भारत सहित तेस्रो मूलक जाने र कमाएको पैसाले परिवार पाल्ने र बचेको पैसाले तराईमा घर घडेरी र जग्गा समेत जोडे । जसका कारण तेर्छेगाउँका आधा भन्दा धेरैको रामपुर, साहीपुर, कालिमाटी र वरपरको तराईका गाउँमा बसोबास गर्दछ । उनीहरुको तेर्छेगाउँमा रहेको जग्गा बाझै थियो । उक्त बाँझो जग्गामा अहिले बेसार, अदुवा र पिडालु खेती सुरु गरिएको छ ।

स्थानीय टेकन भण्डारी र बसन्त भण्डारीले गाउँकाले खेती गर्न छाडेका करिव ५ बिगाह जग्गामा बेसार, पिडालु र अदुवा खेती गर्न सुरु गरेका छन् । “यो वर्षे पाँच बिगाहमा खेती गरेका छौ”—स्थानीय टेकन भण्डारीले भने—“आगामी वर्षमा हामीले गाउँमा कुनैपनि जमिन बाझो राख्दैनौ सवैमा खेती गर्छौ ।” तेर्छेगाउँमा अहिले पनि ८ घरपरिवारको बसोबास छ । त्यहा करिव १० बिगाहजति जग्गामा खेती गर्न बाँकी छ ।
लकडाउन भएपछि रोजगारीका लागि भारत गएका युवाहरु भारतमा लकडाउन सुरु हुन लागेपछि गएको चैत महिनमा घर फर्किका छन् । लकडाउन कहिलेसम्म रहन्छ भन्ने अन्यौलता एकातिर छ भने अर्कोतिर लकडाउन सकिए पनि भारतमा तत्काल पुरानै रोजगारी पाइन्छ भन्नेमा गाउँमा फर्केका युवाहरु विश्वस्त नभएको बताउछन । “लकडाउन कहिले सकिने हो थाह छैन, सकिए पनि तत्काल भारत जाने अवस्था छैन”—तेर्छेगाउँका सचिन खत्रीले भने—“अव गाउँमा गोठ बनाउने हो व्यावसायिक बाख्रा पालन गरेर बस्ने हो ।”


भारतबाट फर्केका सहित स्थानीय १५ जनालाई दैनिक खाना खाएर ६ सय रुपैया पारिश्रमिक दिएर अदुवा, बेसार र पिडालु खेतीमा लगाइएको टेकन भण्डारीले बताए । यो बर्ष भण्डारीले उक्त स्थानमा ६ क्वीन्टल बेसार खेती गरिसकेका छन् । तेर्छेगाउँमा व्यावसायिक अदुवा, बेसार र पिडालु खेती गर्ने योजनामा रहेको भण्डारीले बताए । मिहनेत गरियो भने भारतमा आफूहरुले कमाएजति यही पनि कमाउन सकिने स्थानीय युवाहरुको विश्वास पनि छ । युवाहरुले त्यहा रहेको सिस्नोको सागलाई जम्मा गरेर सिस्नोको धुलो समेत बनाइरहेका छन । बजारमा सिस्नोको धुलोको समेत माग धेरै हुने गरेको आफूहरुले सुनेपछि सिस्नो संकलन गरी धुलो बनाउने काम समेत थालिएको भण्डारीले बताए ।
अदुवा, बेसार र पिडालुको बजारीकरण सहकारीले गरिदिने

तेर्छेगाउँमा उत्पादन हुने अर्गानिक अदुवा, बेसार, पिडालु र सिस्नोको धुलोको बजारीकरण दाङको घोराही स्थित सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्थाले सहयोग गर्ने भएको छ । सर्वोत्तम सहकारी संस्थाले सञ्चालन गर्न लागेको सहकारी सहुलियत बजार मार्फत उपभोक्ताहरुलाई अदुवा, बेसार, पिडालु र सिस्नोको धुलो उपभोक्ताहरुलाई दिने योजनामा रहेको संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले बताए । भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ को पचास प्रतिशत अनुदान र सहकारीको ५० प्रतिशत लागतमा सञ्चालन गर्न लागिएको बजारमा तेर्छेगाउँमा उत्पादन हुने बेसार,अदुवा, पिडालु र सिस्नोको धुलो लगेर बेचबिखन गर्ने योजनामा संस्थाले काम गरिएको अध्यक्ष पौडेलको भनाई छ ।

प्रदेश मन्त्रालय र सहकारीको बिचमा सम्झौता भइ बजारका लागि आवश्यक पर्ने काम भइरहेको र जिल्लाभर कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थाले एउटै छानामूनि दैनिक आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामानहरु सहुलियत दरमा उपलव्ध गराउने योजना अनुसार काम भइरहेको संस्थाले जनाएको छ ।

संस्थाका शेयर सदस्यहरुलाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामान खाद्यान्न, तरकारी, फलफूल, माछामासु, चिया कफी, दुध, नुन तेल, मह लगायतका सामग्री उपलब्ध गराउने, उपभोक्ताहरुलाई समेत एउटै बजारबाट सबै सामानहरु उपलब्ध गराउने, आर्गानिक ताजा कृषि उपजको उत्पादनका लागि कृषकहरुलाई आवश्यक प्राविधिक सिप तथा तालीमहरु उपलव्ध गराउने, कृषकहरुले उत्पादन गरेका सामग्री उचित बजार मूल्यमा खरिद गरी उपभोक्ताहरुलाई उपलब्ध गराउने, कृषि उपजमा बिचौलियाहरुले लिने नाफाको ठूलो हिस्सा कम गरी सुपथ मूल्यमा उपभोक्ताहरुलाई सामग्री उपलब्ध गराउने उद्देश्य सर्वोत्तम सहकारी बजारको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्