कनिका खबर
कार्तिक १६, दाङ
बेलायतमा दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले डिसेम्बर २ तारिखसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् । उहाँले विहीबारदेखि लागू हुने लकडाउन चार हप्ताका लागि जारी रहने बताउनुभयो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । प्रधानमन्त्री जोनसनले पत्रकार सम्मेलन गरी यस पटकको लकडाउनमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिँदै अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बताउनुभयो । बेलायतमा कोरोना सङ्क्रमणको दर पछिल्लो समय तीव्र गतिमा थपिँदै गएको छ भने मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।


