अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन आज हुँदैछ – Kanika Khabar
Wednesday, November 25Nepali News Portal

अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन आज हुँदैछ

    मा प्रकाशित

कनिका खबर कार्तिक १८,  काठमान्डौं                       अमेरिकामा बहुप्रतिक्षित राष्ट्रपतीय निर्वाचन आज हुँदैछ ।

नेपाली समयानुसार आज राति हुने निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडन प्रतिस्पर्धामा छन् ।कोरोना महामारीका कारणले धेरै मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक, सामाजिक र विश्व राजनीतिक सम्बन्धलाई कसरी कसरी अघि बढाउँछ भन्ने विषयले यो चुनाव संसारभरको चासोको केन्द्र बनेको छ ।

आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन ।

सन् १९१८ मा देखा परेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीनरुपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयसमेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।

विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बीमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो ।

तर, यसपटकको चुनावमा कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो । हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाको बीचमा दुई लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो सङ्क्रमणले गाँजेको छ ।

त्यतिमात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीहरुको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झण्डै रोकिएको अवस्थामा आइपुगेको छ ।

त्यसैले यो निर्वाचनका अहिलेका एजेण्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ ।

आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् ।

ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ ।

कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ । अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ ।

हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था ९अर्लि भोटिङ्ग० मार्फत करिब नौ करोड ७९ लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कूल मतदाता सङ्ख्याको ६२ प्रतिशत हो ।

आजको निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ ।

एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट रहेको छ ।

तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिटसहित वर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ ।

सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।

विगत वर्षमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भए तापनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ । तर, पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चारमाध्यमले पनि जो वाइडनको अग्रतालाई प्रचार गरिरहेका छन् ।

यसपटक हरेक विषयमा भौतिकरुपमा भन्दा प्राविधिकरुपमा मतदाता र उमेदवारहरुबीच अन्तरक्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरु पनि छन् ।

नेपाली भाषी पनि विभाजित

अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यो पटकको निर्वाचनले प्रभावित पारेको छ ।

सङ्ख्यात्मक हिसाबले नेपली भाषीको निर्वाचनका समयमा ठोस प्रभाव पार्न नसक्ने भए तापनि नेपाली मुलुकको जनघनत्व बढी भएको स्थानमा भने कोही रिपब्लिकन त कोही डेमोक्र्याट पार्टीका उम्मेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा समेत होमिएको बताउँदै आएका छन् ।

डेमोक्र्याट पार्टीकोतर्फबाट मेरिल्याण्ड जनरल एसेम्वलीमा डेलिगेटमा विजयी भएका पहिलो नेपाली अमेरिकन हयारी भण्डारीले आफनो अगुवाईमा ‘नेप्लिज फर वाइडेन’ अभियान सञ्चालन गरेका छन् ।

यसै सिलसिलामा भण्डारीले अमेरिकी सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनसँग नेपाली समुदायका अगुवाहरुलाई चुनावी रणनीतिकाबारेमा भर्चुअल अन्तरक्रिया र्‍याली पनि गरेका थिए ।

आफूलाई डेमोक्र्याट पार्टीले बोक्ने प्रगतिशील एजेण्डा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हरेक मुद्दामा राख्ने स्पष्ट दृष्टिकोणले प्रभावित पारेको उनको भनाइ छ ।

भण्डारी अमेरिकाको राजनीति र माइनोरिटी सम्बन्धमा युनिभर्सिटी अफ मेरिल्याण्डवाट विद्यावारिधिका लागि शोध गरिरहेका छन् ।

उनले अध्ययनका क्रममा अमेरिकाको राजनीतिमा एशियन अमेरिकनको सहभागिता आगामी दशकमा अझ बढ्ने अनुसन्धानले पुष्टि गरेको र यसमा आफू विश्वस्त रहेको बताउँछन् ।

एशियन अमेरिकनसँगै नेपाली अमेरिकनको पनि राजनीतिक पहुँचको वृद्धि हुनेमा पूर्ण विश्वास रहेको भण्डारीको भनाइ छ ।

डेमोक्र्याट पार्टीको एशियन अमेरिकन प्यासिफिक आइल्याण्डर्स् मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्य तथा नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका केन्द्रीय उपाध्यक्ष अर्जुन हमालले भने, ‘हामी नेप्लीज अमेरिकनको चुनावी प्रक्रियामा सामेल भएको धेरै भएको छैन तर यो प्रक्रियामा सामेल भएर आफ्नो अधिकार उपयोग गर्नु सबैको कर्तव्य हो ।’

उता रिपब्लिकन पार्टीको वर्चस्व रहेको टेक्सासमा बस्दै आएका ‘एनआरएन आइसिसिका अमेरिकाज क्षेत्रका डिआरसी’ रामसी पोख्रेल आफू ‘रजिष्टर्ड रिपव्लिकन’ भएको बताउँछन् ।

पोख्रेलले भने, ‘हामीले स्थानीय, राज्य र सङ्घीय सरकारमा हामी र हाम्रो एजेण्डा बुझाउन, अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गर्न राजनीतिमा सामेल हुनुपर्छ ।’

टेक्सासमा रहेका नेप्लीज अमेरिकनहरुले साउथ एशियन रिपब्लिकन क्लब स्थापना गरेर आफ्नो विचारसँग नजिक रहेका रिपब्लिकन पार्टीका उम्मेदवारलाई समेत सहयोग गर्दै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्