कनिका खबर
कार्तिक १९, काठमाडौं
भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलसहित नरभणे भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौं आउनुहुनेछ । उहाँलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुनेछ । आफ्नो भ्रमणले नेपाली सेनासँगको सम्बन्ध सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । नरभणेलाई भोली बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित गर्ने कार्यक्रम छ । त्यही दिन उहाँले राष्ट्रपति भण्डारीसँग र स्वदेश फर्किनुअघि शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । नरभणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्नुहुनेछ । भारतीय सेनाध्यक्षकी पत्नी एवं त्यहाँको सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष विना नरभणेले प्रधानसेनापति थापापत्नी एवं सैनिक श्रीमती संघका अध्यक्ष दीपा थापासँग बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्र्नुहुनेछ । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नरभणेको भ्रमण नियमित तथा परम्पराको निरन्तरता भएको बताउनुभएको छ । बिहीबार प्रधानसेनापतिसँग हुने द्विपक्षीय भेटका क्रममा मोबाइल अस्पताल, एम्बुलेन्सलगायत सामग्री भारतीय सेनाध्यक्षबाट हस्तान्तरण हुने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । मंगलबार भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जारी गर्नुभएको प्रेस नोटमा दुई देशबीच रक्षा साझेदारी बढाउने विषयमा छलफल गर्ने गरी सेनाध्यक्ष नरभणेको भ्रमण हुन लागेको उल्लेख छ । नरभणेको भ्रमणका विषयमा दुवै देशमा चासो बढेको छ । सेनाले नियमित र परम्पराको निरन्तरता भनेपनि यस भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
मा प्रकाशित


