कनिका खबर
कार्तिक १९, नुवाकोट
छिमेकी महिलालाई बोक्सीको आरोप लगाई आत्महत्या गर्न दुरुत्साहान गरेको भन्दै नुवाकोटको तादीका तीन जना पूर्पक्षको लागि कारागार चलान भएका छन् । गत असोज १६ गते बिहान तादी गापा–१ की ५२ वर्षिया सञ्चमाया तामाङले आफ्नै घरमा बिषादी सेवन गरी आत्महत्या गरेको कारण दुरुत्साहन मुद्दामा पक्राउ परेका तीन जना युवक अदालतको आदेशमा कारागार चलान भएका हुन् । मृतक महिलालाई पहिलेदेखिनै स्थानीय ४८ वर्षिय लक्षु तामाङ सहितका व्यक्तिहरूले बोक्सीको आरोप लगाउदै आइरहेको र घटनाको अघिल्लो दिन पनि मृतक महिलालाई लक्षु तामाङले आफ्नो घरमा लगेर आफ्नो श्रीमती कान्छीमाया तामाङ बिरामी भएकोमा बोक्सी लगाई बिरामी बनाएको भन्ने आरोप लगाई धाकधम्की तथा यातना दिएका प्रहरीले जनाएको छ । बोक्सीको आरोपका कारण ति महिला मानसिक तनाबमा रहेकोले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक अनील पण्डितले जानकारी दिनुभयो । मृतकका श्रीमान लालबहादुर तामाङले “बोक्सीको आरोप लगाई आत्महत्या गर्न दुरुत्सान गरेको” शिर्षकमा लक्षु तामाङ, सोही स्थानका ३२ वर्षिय आईतमान तामाङ र ५५ वर्षिय सोम्बर तामाङ बिरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीमा उल्लेखित लक्षु तामाङ र आइतमान तामाङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दाखिला गराउनुका साथै सोम्बर तामाङ भने हालसम्म फरार रहेकोले उक्त घटनाको अनुसन्धान कार्य गरी मंगलवार उनीहरूलाई नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेश अनुसार लक्षु तामाङ र आइतमान तामाङ पूर्पक्षको लागि कारागार चलान भएका नुवाकोट प्रहरीले जनाएको छ ।
मा प्रकाशित


