
दाङ । मेरील्यान्ड पब्लिक एकेडेमी घोराही दाङले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीको शैक्षिक अवस्था, अनुशासन, सिकाइ उपलब्धि तथा विद्यालय र अभिभावकबीचको सहकार्यका विषयमा अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्याब्सन दाङका सचिव आदिम केसीले विद्यालयको शैक्षिक विकासमा शिक्षक, विद्यार्थी र अभिभावकबिचको सहकार्य अपरिहार्य रहेको बताए । उनले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न विद्यालयले मात्र प्रयास गरेर नपुग्ने भन्दै घर र विद्यालय दुवैको वातावरण सिकाइमैत्री हुनुपर्नेमा जोड दिए ।
केसीले अभिभावकले आफ्ना बालबालिकाको पढाइप्रति नियमित चासो राख्दै उनीहरूको व्यवहार, रुचि र क्षमताका विषयमा शिक्षकसँग निरन्तर संवाद गर्नुपर्ने बताए । प्रविधिको बढ्दो प्रयोगका कारण बालबालिकाको अध्ययनमा पर्न सक्ने प्रभावलाई समेत ध्यान दिँदै अभिभावकले मोबाइल तथा सामाजिक सञ्जालको प्रयोगमा आवश्यक निगरानी गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमको विषयवस्तुमाथि जानकारी दिँदै विद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार श्रेष्ठले विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताए । उनले अभिभावकबाट प्राप्त सुझाव र गुनासोलाई विद्यालयको सुधारका लागि महत्वपूर्ण आधारका रूपमा लिने उल्लेख गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
अन्तरक्रियाका क्रममा अभिभावकहरूले विद्यार्थीको पढाइसँगै अनुशासन, नियमित गृहकार्य, अतिरिक्त क्रियाकलाप, डिजिटल उपकरणको प्रयोग तथा विद्यालय–अभिभावकबिच नियमित सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए । अभिभावकहरूले विद्यार्थीको व्यक्तिगत क्षमता र रुचिअनुसार सिकाइका अवसर बढाउन तथा समय–समयमा विद्यार्थीको प्रगतिको जानकारी अभिभावकलाई उपलब्ध गराउन पनि आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । विद्यार्थीका सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष टेमन बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । सहायक प्रिन्सिपल प्रवेश खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक बिना मगरले गरेकी थिइन् ।



