कनिका खबर
कार्तिक २०, सिन्धुली
२०६७ सालदेखि कात्तीक २४ गते मनाईदै आएको सिन्धुलीगढी विजय दिवस यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । विगतका वर्षमा भव्यताका साथ मनाईदै आएको विजय दिवस यो वर्ष अनौपचारिक रुपमा मनाईने कमलामाई नगरपालिकाले जनाएको हो । यो वर्ष कोरोना भाईरस संक्रमण हुनसक्ने भन्दै कसैलाई पनि औपचारिक निम्तो नदिने तर सलामी र झण्डोत्तोलनको कार्यक्रम भने गर्ने कार्यक्रम रहेको नगर उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिनुभयो । नगरले प्रत्यक बर्षको कात्तिक २४ गते ऐतिहासिक सिन्धुलीगढी विजय दिवस मनाउन सार्वजनीक विदा दिदै आएको छ । यस बर्ष पनि कमलामाई नगरपालिकाको कार्यालय र मातहतका अन्य कार्यालयमा सार्वजनिक विदा हुने उहाँले बताउनुभयो । २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन सुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासंघले प्रचार प्रसारका लागि उक्त दिवस मनाउन सुरु गरेकोे थियो । त्यसपछिका वर्षमा तत्कालिन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजय दिवसको आयोजना गर्दै आएको छ । नेपाली सेनाले विजय दिवसमा हरेक वर्ष सलामी दिदै आएको छ भने नेपालको झण्डा झण्डोत्तोलन गरि राष्ट्रियताको स्मरण गरिन्छ । कात्तीक २४ गते लाई १८२४ मा नेपाली फौजले अंग्रेजलाई हराएको दिनको सम्झनामा सिन्धुलीगढीमा विजय दिवस मनाउँदै आएको छ ।
मा प्रकाशित


