कनिका खबर
कार्तिक २१, दाङ ।
नेपाली बैंक र चीनियाँ बैंकबीचको मुद्दा नेपाली बैंकले जितेका छन् । चिनियाँ बैंक, ठेकेदार कम्पनी र चिनियाँ अदालतको लामो चक्करपछि नेपालका हिमालयन बैंक र बैंक अफ काठमान्डुले मुद्दा जितेका हुन् ।
यो मुद्दा जितेसँगै उनीहरुको डेढ अर्ब रुपैयाँ बराबरको रकम फिर्ता आउने भएको छ।
८ बर्षअघि मेलम्ची खानेपानी आयोजनाको जमानतको रकम फिर्ता सम्बन्धी चीनमा चलेको मुद्दा दुबै बैंकले जितेपछि उनीहरुको रकम फिर्ता आउने भएको हो।
यद्यपि विपक्षीहरु पुनरावेदनका लागि उच्च अदालतमा जाने सम्मावना भने अझै रहेको छ ।
हिजो विहीबार चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्दा जितेका हुन्। दुबै बैंकले शुक्रबार नै रकम फिर्ताको लागि दावी सहितको पत्र पठाउने बताएका छन्।
मुद्दा जितेसँगै दुवै बैंकले मेलम्ची जमानतको रकम भुक्तानी पाउनेछन्।
मेलम्ची आयोजनाको जमानत रकम फिर्ता आएमा बैंक अफ काठमाण्डूको ९४ करोड ९८ लाख रुपैयाँ बराबर र हिमालयन बैंकको ६६ करोड रुपैयाँ फिर्ता आउने छ।
त्यस्तै बैंकले हर्जना रकम पनि फिर्ता पाउने छन् तर कति रकम फिर्ता आउने छ भन्ने विषयमा भने अझै स्पष्ट जानकारी नआएको बैंकले जनाएको छ।
बैंक अफ काठमाडौं र हिमालय बैंकले ८ बर्ष अघि चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन ९सीसीबी० का तर्फबाट मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टी र अग्रिम भुक्तानीबापत डेढ अर्ब रुपैयाँ दिएका थिए।
तत्कालीन समयमा मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रुपमा सीसीबी रहेको थियो। सीसीबीको काउन्टर ग्यारेन्टीको रुपमा नेपालका बैंकहरु बैंक अफ काठमाडौं र हिमालयन बैंक रहेको थियो।


