प्रस्तावित राजदूत अनुमोदित, उच्च तहको भ्रमण गराइने प्रतिबद्धता – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

प्रस्तावित राजदूत अनुमोदित, उच्च तहको भ्रमण गराइने प्रतिबद्धता

    मा प्रकाशित

कार्तिक २८ काठमाडौँ ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको बिहीबारको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा, बेलायतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डाक्टर निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो । बैठकमा प्रस्तावित राजदूतत्रयले तत्तत् देशमा गएर आर्थिक कुटनीतिलाई प्रवर्द्धन गर्दै देशमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेसा, व्यवसाय गरी बसेका नेपालीको हितमा काम गर्ने बताउँदै उहाँहरूले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गर्नुभएको थियो ।

प्रस्तावित राजदूत डा। खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परे पनि उजुरीकर्ता भने समितिसमक्ष उपस्थित भएनन् । यसअघि बैठकमा सदस्यले उहाँहरूलाई लक्ष्य गरी परेका उजुुरीबारे स्पष्टीकरण माग गर्दै देशको आवश्यकतालाई बुझी प्राथमिकता तोकेर काम गर्न सुझाव दिनुभयो ।

प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

रासस

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्