एक करोड लगानीमा कविला रिर्सोट – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

एक करोड लगानीमा कविला रिर्सोट

    मा प्रकाशित

दाङ, २८ कार्तिक ।

स्थानीय परिकारलाई प्रबद्र्धन गर्ने उद्देश्यले घोराहीमा नयाँ रिसोर्ट सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ सानीअम्बापुरमा हस्पिटालिटी ग्रुपले कविला रिर्साेट सञ्चालनमा ल्याएको हो । झण्डै एक करोडको लगानीमा सञ्चालनमा आएको रिसोर्ट कार्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ ।

जिल्लामा आउने आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट सञ्चालनमा ल्याएको कविला हस्पिटालिटी ग्रुपका अध्यक्ष केबी चौधरीले बताए । स्थानीय अर्गानिक र हाइजनिक परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य रहेको उनले बताए । खास गरी सुदरमुकामका आन्तरिक पर्यटक होस् या वाह्य पर्यटक सबैले थारु परिकार भएको रिसोर्ट खोज्ने भएकाले ती ग्राहकलाई लक्षित गरेर हामीले विशेष थारु परिकार र अन्य परिकार सहित कविला रिसोर्ट सञ्चालनमा ल्याएको अध्यक्ष चौधरीले बताए ।

उनका अनुसार रिसोर्टमा थारु परिकार ढिक्री, अनदी चामलको रोटी, सुँगुर, लोकल कुखुरा, बधिया भाले, हाँस, खसी, मुसाको मासु, माछा, गंगटा, घोङीलगायत स्थानीय उत्पादनको परिकार उपलब्ध छ ।

करिब ७ कठ्ठाको क्षेत्रफलमा सञ्चालित रिसोर्ट अबको केही महिनामा ३०० जना सहभागी अटाउने क्षमता भएको एसी सहितको सेमिनार गोष्ठी हल पनि सञ्चालनमा ल्याउने रिसोर्टको डाइरेक्टर विकास चौधरीले बताए । तत्काललाई खाजा, नास्ता र मिनी सेमिनार गोष्ठी कार्यक्रम गर्नलाई सुरुवात गरिए तापनि केही दिनमा बास बस्नका लागि सुविधा सम्पन्न एसी रुम सहित सुविधा प्रदान गर्ने उनले जानकारी दिए ।

अहिले पूर्वाधार निर्माणकै क्रममा रहेकाले ढिलोमा फागुन–चैतसम्म उक्त सुविधाहरु सञ्चालनमा आउने उनको भनाइ छ । यसैगरी बजारको होटेलभन्दा सस्तो, शुलभ, शान्त वातावरणमा भएकाले आफूहरुले ग्राहकको मन जित्नसक्ने रिसोर्ट सञ्चालक भुवन चौधरीले बताए । ‘तत्काललाई एक करोडको लगानीमा सुरु गरिए तापनि हाम्रो लक्ष्य पाँच करोडको सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्ने हो’, उनले भने—कोरोनाको कारणले भौतिक पूवार्धार निर्माणमा केही ढिलाइ भएको छ, विस्तारै यसको लगानी बढ्ने र रिसोर्टका अन्य सुविधा पनि बढाउँदै जान्छौँ ।’

यसैबीच कविला रिसोर्टको विधिवत रुपमा उद्घाटन लुम्बिनी प्रदेश सभाका सदस्य अम्मरबहादर डाँगीले गरेका थिए । रिसोर्टको उद्घाटन गर्दै प्रदेशसभा सदस्य डाँगीले स्थानीय परिकार, कला, संस्कृतिको प्रबद्र्धनसँगै पर्यटनको विकासमा कविला रिसोर्टले थप सहयोग पु¥याउने कुरामा आफू विश्वस्त रहेको बताए ।

कविला हस्पिटालिटी ग्रुपका अध्यक्ष केबी चौधरीको अध्यक्षतामा भएको रिसोर्ट उद्घाटन कार्यक्रममा घोराही उपमहनगरपालिका वडा नं. १६ का वडाध्यक्ष तारा डाँगी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव तथा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, दाङ होटेल व्यवसायी संघका अध्यक्ष रुद्र डाँगीलगायतले शुभकनमा मन्तव्य व्यक्त गरेका थिए ।

रिसोर्टका डाइरेक्टर विकास चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भुवन चौधरीले गरेका थिए

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्