कनिका खबर
मंसिर २, काठमाडौं
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ । आज दिउँसो भने सामान्यतया मौसम सफा रहने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ । हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको स्थानीयले बताएका छन् । मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ । हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा हिजो दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् ।


