कनिका खबर
मंसिर ३, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि तेस्रो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँले आज नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो । संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेश मार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो । केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिनुभएको थियो ।


