सरिता चलाउने
मंसिर ९, सल्यान ।
सल्यानमा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि सदरमुकाम खलंगा बजार एक साताका लागि पूर्ण रुपले बन्द अर्थात् सिल गरिएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि मंसिर १५ गतेसम्मका लागि अलंगा बजार बन्द गरेको हो ।
खलंगा बजार क्षेत्रमा ५ गते नमुना स्वाब परीक्षण गरिएकोमा सर्वसाधारण र कर्मचारीसहित १० जनामा कोरोना पुष्टि भएको थियो । अत्यावश्यक सेवा खाद्यन्न, डेरी, तरकारी, फलफूल व्यवसाय बिहान ८ बजेदेखि ९ः३० सम्म खुल्ला रहने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
अत्यावश्यक सेवा बाहेक अन्य सबै पसल व्यावसाय, होटल, नागरिकका घरहरु पूर्ण रुपले सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ ।
निषेधित क्षेत्रमा निषेधित कार्य कसैले गरे गराएको पाइएमा कोभिड सङ्क्रमण फैलाउने कार्य गरे गराएको कसूर मानी कसूरदारलाई प्रहरीमार्फत् नियन्त्रणमा लिई सङ्क्रामक रोग ऐन २०२० बमोजिम तत्काल तोकिएको जरिवाना वा कैद सजाय हुने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो ।


