अन्योललाई चिर्दै कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहजरुपमा सञ्चालन – Kanika Khabar
Friday, May 15Nepali News Portal

अन्योललाई चिर्दै कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहजरुपमा सञ्चालन

    मा प्रकाशित

कोभिड–१९ कारण वैशाखदेखि रोकिएर हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहजरुपमा सञ्चालन भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले होम सेन्टर, घरपायक र फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने गरी व्यवस्थापन गर्दै परीक्षामा सामेल हुने विद्यार्थीको अनिवार्यरुपमा ज्वरो नाप्ने, मास्क लगाउने, एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राखेर भौतिक दूरी कायम गराई पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गराएर देशभर सफल रुपमा सञ्चालन भएको पहिलो दिनको परीक्षाले उत्साह थपेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

विद्यालयले हेल्थ सेन्टर राख्नुपर्ने नियम पालना गराए पनि कोभिड सङ्क्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ । आजदेखि आगामी १६ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टा समयको छ । परीक्षामा देशभरका चार हजार १०५ विद्यालयमा चार लाख ३२ हजार ५०० विद्यार्थीले परीक्षा दिएका थिए ।

कोरोनाका कारण बोर्डले यस वर्ष ४० प्रतिशत अङ्क कक्षा ११, २० प्रतिशत अङ्क कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट र ४० प्रतिशत अङ्कका लागि मात्रै परीक्षा सञ्चालन गरेको हो । स्थानीय निकायको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको परीक्षामा सहभागी परीक्षार्थीसँगै केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले हिमाली र उच्च पहाडी जिल्लामा प्रश्नपत्र पु¥याए पनि अन्य जिल्लामा भने विद्यार्थी परीक्षा हलमा प्रवेश गरेपछि मात्र अनलाइन प्रश्नपत्र पठाएको अर्यालले जानकारी दिनुभयो । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोर्ड पठाएर कोड नम्बरअनुसार प्रश्नपत्र हेर्न पाइने व्यवस्था गरिएको थियो ।

अनिवार्य विषयका करिब पाँच सेट प्रश्नत्रप तयार पारेको र परीक्षा सञ्चालन कार्यविधि बनाएर बोर्डले परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिएको थियो । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्