आज दाङ जिल्लाको नामाकरण भएको दिन – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज दाङ जिल्लाको नामाकरण भएको दिन

    मा प्रकाशित

कनिका डेस्क
जेठ ३, दाङ ।
आज दाङ जिल्लाको नामाकरण भएको दिन हो । २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानिएको हो । दाङ जिल्लाको नामाकरण हुनुभन्दा पहिले १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका मातहतमा राखिएको थियो । त्यसैगरी १९९६ सालमा भैरहवा गोश्वाराका मातहतमा र २००३ सालमा नेपालगञ्ज गोश्वाराका मातहतमा राखिएको थियो । २००७ सालसम्म यस जिल्लामा माल, अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए । २००८ साल जेठ ३ गते छुट्टै जिल्ला मानिएपछि यहाँ वडा हाकिम रहन थालेका थिए ।

२०१८ सालमा फलावाङ राज्यको उन्मूलन भएको र त्यसपछि दाङको पश्चिमी भाग र पहिलेदेखि नै सल्यानमा रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङमा गाभिएको हो । त्यसपछि मात्र दाङ आजको अवस्थामा आएको हो ।

दाङ जिल्लाको ऐतिहासिक सन्दर्भ
हाल दाङ जिल्ला भनेर चिनिने यस क्षेत्रले दाङ र देउखुरी नामक दुईवटा उपत्यकाहरुका साथै यी उपत्यकाका वरिपरिरहेका पहाडी क्षेत्रका र तिनीहरुको पानी ढलीलाई बुझाउँदछ । पहाडहरुका वीचमा रहेको मैदानी भू–भागलाई बुझाउने संस्कृतको ‘द्रोण’ शब्दबाट ‘दाङ’ शव्दको उत्पत्ति भएको र पहिलो बस्ती ‘देवपुर’ शव्दबाट ‘देवपुरी’ शब्द उत्पत्ति भएको र सो शब्द अपभ्रशं भै ‘देउखुरी’ शब्द बनेको मानिन्छ (स्व. श्री टेकनाथ गौतम) ।

थारुजातीका मानिसहरु दाङ जिल्लाका प्रथम वासिन्दा मानिन्छन् यिनीहरु यस जिल्लामा पश्चिम–दक्षिणबाट यहाँ आएर बसेको मानिन्छ । थारुहरु पछि यस ठाउँमा आएर वसोवास गर्नेहरुमा दोश्रो स्थानमा बाहुनहरु जातिका मानिसहरु थिए । त्यसपछि मात्र अन्य जात–जातिका मानिसहरु पहाडबाट यहाँ आई बसोबास गर्न थालेको मानिएको छ । वि.सं. २०१४ सालसम्म पनि यस जिल्लामा थारुहरुको वाहुल्यता थियो भने दोस्रोस्थान बाहुनको थियो । त्यसपछि मात्र अन्य जात–जातीका मानिसहरुको उपस्थिति रहेको थियो । नयाँ मुलुकमा (वाँके, वर्दिया,कैलाली र कञ्चनपुर) जमिन आवाद गर्न पाइने व्यवस्थाले गर्दा यहाका प्रथम वासिन्दाका रुपमा परिचित तथा व्यापक वाहुल्यतामा रहेका थारुजातिका मानिसहरु नयाँ मुलुकतर्फ बसाइँ सराई गर्न लागे । सोको लगत्तै बिर्ता उन्मुलन हुनुका साथै छोटो समयको अन्तराल भित्रै भूमिसुधार कार्यक्रम पनि सुरु हुन थाल्यो जसले गर्दा थारुहरुले आफ्नो स्वामित्वमा रहेको जमिन धमाधम बेच्न लागे । साथसाथै दाङमा औलो उन्मूलन कार्यक्रमका कारण औलोको प्रकोपमा कमी आई औलोको कारण बाट हुनसक्ने मृत्युको डर पनि कम हुँदै जान थाल्यो, यसपछि थारुहरुले छाडेको जमिनमा पहाडबाट बसाइँ सराई गरी आउने अन्य जातजातीका मानिसहरुको ओइरो लाग्न थाल्यो । फलस्वरुप थारुहरुको बाहुल्यतामा कमी हुन थाल्नुका साथै अन्य जात–जातिहरुको उपस्थिति पनि देखिन थाल्यो । धेरै पहिलेदेखि नै दाङको उत्तरी काँठ पहाडी राजाहरुका अधिनमा थियो भने दक्षिणको मैदानी भु–भाग थारु राजाका अधीनमा थियो ।

बिक्रमको १४औं शताब्दीको आखिरीतिर यो जुम्लाको अधीनमा थियो । पछि वि.सं.१४८० तिर सवारीकोटका राजा रतनपाण्डेले थारुको राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित (कतिपय पुस्तकहरुमा रत्न परिक्षक लेखिएको पाइएको छ ) नामले दाङका राजा भए । रत्न परिक्षितको छोरा नभएकाले उनले केही समयपछि बझाङबाट राजकुमार झिकाई आफ्ना ठाउँमा राजाको रुपमा स्थापित गराएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे । रतननाथले दाङ छाड्दा यस राज्यको बिस्तार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसीपुर भनिने इलाकासम्म थियो । विक्रम सम्वत् १८४३ मा नेपालको एकीकरणका क्रममा दाङका राजा नवल सिंहले गोर्खालीसँगको तापाको लडाईमा (तापा साविकको काभ्रे गा.वि.स.मा पर्दछ) वीरगति प्राप्त गरे । पछि उनका राजकुमार दिलेर सिंहले दाङको पूरै क्षेत्रको रक्षा गर्न सकेनन् । आफ्नो आधा राज्य तुलसीपुरको समथर मैदानी भू–भाग मात्र बचाई त्यहीँका राजा भएर बसे । गोर्खालीले जितेको दाङको देउखुरी क्षेत्र पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए । वि.सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ पनि नेपालमा मिल्यो । १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजाका बंशज तेजबहादुर शाहलाई ‘राजा’ पद र पश्चिमी दाङको क्षेत्र फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ खण्डित भयो ।
नेपाल एकीरणपछि दाङ जिल्ला सल्यान गौंडाका मातहतमा थियो । १९३८ सालमा दाङको मैदानी भागलाई तौलिहवा गोश्वाराका मातहतमा, १९९६ सालमा भैरहवा गोश्वाराका मातहतमा र २००३ सालमा नेपालगञ्ज गोश्वाराका मातहतमा राखिएको थियो । २००७ सालसम्म यस जिल्लामा माल, अदालत, हुलाक, इन्सपेक्टर अफिस मात्र थिए । २००८ साल जेठ ३ गतेदेखि छुट्टै जिल्ला मानियो र यहाँ वडा हाकिम रहन थाले । २०१७ सालमा राप्ती अञ्चलको सदरमुकाम दाङ मानिए पछि यहाँ अञ्चलाधीश रहन थाले ।
२०१८ सालमा फलावाङ राज्यको उन्मूलन भयो । त्यसपछि दाङको पश्चिमी भाग र पहिलेदेखि नै सल्यानमा रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङमा मिल्यो त्यसपछि मात्र दाङ आजको अवस्थामा आएको हो ।

(स्रोत :जिल्ला समन्वय समिति दाङ )

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्