सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा प्रधानमन्त्रीको जोड – Kanika Khabar
Friday, April 26Nepali News Portal

सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा प्रधानमन्त्रीको जोड

    मा प्रकाशित

कनिका खबर
मंसिर ११, दाङ
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिनुभएको छ । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताउनुभयो । योगदान गर्न सक्ने मात्र होइन, अलपत्र, गरीबीको चपेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै उहाँले संविधानले निर्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । यसै अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले असङ्गठित तथा स्वरोजगारमा संलग्न श्रमिकलाई छिट्टै सामाजिक सुरक्षाको दायरामा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले योगदानकर्ताले जम्मा गरेको रकम सुरक्षित लगानीमार्फत दिगो प्रतिफल दिने ढङ्गबाट कोषको लगानी कार्यविधि कार्यान्वयनका क्रममा रहेको जानकारी दिनुभयो । उहाँले सामाजिक सुरक्षाका सम्बन्धमा अन्तरर्राष्ट्रिय अभ्यासको अनुसरण गरी सरकारका योजना, कार्यक्रम तथा प्रतिबद्धता पूरा गर्दै कोषको दीर्घकालीन पूँजीलाई योगदानकर्ताको हित हुने गरी पूर्वाधार निर्माणका क्षेत्रमा परिचालन गर्न कोष केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । समाजिक सुरक्षा कोष सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका श्रम मन्त्रालयका सचिव तोयम रायले सामाजिक सुरक्षा योजना कार्यान्वयनका क्रममा आइपरेको समस्यालाई समाधान गरिने बताउनुभयो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षाको सिद्धान्त, बीमाङ्कीय परामर्श तथा केही व्यावहारिक पक्षलाई ध्यानमा राखी कोषले आफ्नो योजना सञ्चालन कार्यविधि परिमार्जनमार्फत योगदानकर्ताबाट सुनिँदै आएको अधिकांश गुनासोलाई सम्वोधन गर्ने प्रयास गरिएको बताउनुभयो । अहिलेसम्म १२ हजार ९ सय १५ रोजगारदाता र एक लाख ७९ हजार ७ सय ९१ योगदानकर्ता कोषमा सूचीकृत छन् । हालसम्म २ अर्ब १० करोड योगदान रकम सङ्कलन भएको छ भने कोषले १ करोड ४७ लाख ५५ हजार ४ सय ५९ दाबी भुक्तानी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्