कनिका खबर
मंसिर १४, काठमाडौं
जोखिम भत्ता र नियमित तलबको माग गर्दै गत कार्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारीले अस्पतालमा तालाबन्दी गरेका छन् । आन्दोलन सुरु गरेको ४२ दिन पुग्दा पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले स्वास्थ्य कर्मचारीको मागलाई सम्वोधन नगरेको भन्दै डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी संघको आज बसेको बैठकले पदाधिकारीको कक्षमा आजै तालाबन्दी गर्ने निर्णय गरेसँगै तालाबन्दी गरिएको अस्पतालका कर्मचारी तथा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्यले जानकारी दिनुभयो । अस्पतालमा धर्नासहित, प्लेकार्ड प्रदर्शन गरेर पदाधिकारीविरुद्ध नाराबाजी गरे पनि कुनै सेवा भने अवरुद्ध नगरेका उहाँले बताउनुभयो । पदाधिकारीको कक्षमा तालाबन्दी गरे पनि स्वास्थ्य सेवा निरन्तर संचालन हुने उहाँको भनाइ छ । ४२ दिनयता दैनिक रुपमा अस्पताल परिसरमा स्वास्थ्यकर्मीले धर्नासहित नाराबाजी गर्दै आएका छन् ।