१३ औँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

१३ औँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
मंसिर १४, दाङ
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरणसार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी सर्वाजनिक गरिएको विवरण अनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ । यस्तै पूर्वाधार निर्माणमा विगतदेखि अहिलेसम्म २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले जानकारी गराउनुभयो । यस्तै पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय संघलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख बराबरको पुरस्कार रकम २०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उहाँले बताउनुभयो । सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको ३ महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरे पनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताउनुभयो । गत वर्षबाट महामारीका रुपमा फैलिएको कोभिड—१९ र सागमा सहभागी राष्ट्रहरुबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागी राष्ट्रको ओलम्पिक कमिटीबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उहाँले बतउनुभयो । सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १ सय ३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । १ करोड ९३ लाख ८० हजार २ सय २४ रुपैयाँ भने फ्रिज भएको उहाँको भनाइ छ । नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न १ अर्ब २३ करोड १८ लाख ४८ हजार रुपैयाँ दिएको थियो । यस्तै टिकट बिक्रीबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९९ हजार १ सय ५० रुपैयाँ र सहभागी राष्ट्रबाट ११ करोड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ प्राप्त भएको उहाँले जानकारी गराउनुभयो । साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख, ८८ हजार ८ सय ४ रुपैयाँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ । यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार ८ सय ८१ रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजार ९३९ रुपैयाँ खर्च भएको छ । यस्तै सचिवालय खर्च (काठमाडौँ) ६ करोड ७४ लाख, ५६ हजार ४ सय ७९, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार २ सय २४ र जनकपुरमा ८० लाख ३७ हजार २ सय १२ रुपैयाँ खर्च भएको छ । १४ औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भए पनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । पाकिस्तानले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको पनि उहाँले बताउनुभयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्