काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले एमबीएस प्रथम सत्रको एमजीटी ५१५ ‘अर्गनाइजेशन बिह्याावियर’ विषयको प्रश्नपत्र चुहावट प्रकरणमा दुई जना पक्राउ परेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने परीक्षामा संलग्न त्रिवि बाहिरका शिक्षक रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जानकारी दिदै अनुसन्धानपछि मात्र विस्तृत जानकारी दिने बताए । साइबर ब्यूरोको अनुसन्धानपछि दुई जना पक्राउ परेको र प्रहरीले थप छानबिन गरिरहेको बताए । यसअघि त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले छानविन गर्न समिति गठन गरेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् । साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो ।
२- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई विभिन्न उपसमितिको सहजीकरणको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी र सदस्यलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो । बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका नेताहरूलाई यसलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक काम गर्न निर्देशन दिएका छन् । उनले प्रत्येक उपसमितिले नागरिक सरोकारका विषयलाई अभियानसँग जोडेर अघि बढाउनुपर्ने र जनजीवनसँग सम्बन्धित मुद्दालाई कांग्रेसको नीतिगत एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन् । बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिका संयोजक डा. डी.बी. सुनारले आ–आफ्नो कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए । प्रतिष्ठानको अर्को बैठक साउन ११ गते बिहान ११:३० बजे बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
३- बंगलादेशले आगामी अगस्टमा अष्ट्रेलियासँग हुने दुई खेलको टेस्ट सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी नजमुल हुसेन शान्तोले गर्नेछन् । बंगलादेशले सन् २००३ पछि पहिलो पटक अष्ट्रेलियाको भूमिमा टेस्ट क्रिकेट खेल्न लागेको हो । यो सिरिज अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विश्व टेस्ट च्याम्पियनसिप २०२५-२७ अन्तर्गत हुनेछ । सन् २०२१ पछि पहिलो पटक टेस्ट टोलीमा फर्किएका सौम्य सरकार पनि टोलीमा समावेश भएका छन् । ब्याटिङतर्फ शान्तो, सौम्य सरकार, मुश्फिकुर रहिम, मोमिनुल हक र शादमान इस्लामजस्ता अनुभवी खेलाडी रहेका छन् । चोटका कारण प्रभावित भएको तीव्र गतिका बलर विभागको जिम्मेवारी तास्किन अहमद, हसन महमुद, खालिद अहमद र एबादोत हुसेनले सम्हाल्नेछन्। पहिलो पटक मुस्फिक हसनलाई पनि टोलीमा स्थान दिइएको छ । स्पिन आक्रमणको नेतृत्व मेहदी हसन मिराज र ताइजुल इस्लामले गर्नेछन् । बंगलादेशका टिम: नजमुल हुसेन शान्तो (कप्तान), सौम्य सरकार, शादमान इस्लाम, तन्जिद हसन, मोमिनुल हक, मुश्फिकुर रहिम, अमित हसन, जाकेर अली अनिक, मेहदी हसन मिराज (उपकप्तान), ताइजुल इस्लाम, तास्किन अहमद, हसन महमुद, सैयद खालिद अहमद, एबादोत हुसेन चौधरी र मुस्फिक हसन। हाल विश्व टेस्ट च्याम्पियनसिपको अंकतालिकामा अष्ट्रेलिया ८७.५० प्रतिशत अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश ५८.३३ प्रतिशत अंकसहित चौथो स्थानमा रहेको छ । दुई टोलीबीचको पहिलो टेस्ट अगस्ट १३ देखि १७ सम्म डार्विनमा तथा दोस्रो टेस्ट अगस्ट २२ देखि २६ सम्म म्याकेमा खेलिनेछ । अर्कोतर्फ अष्ट्रेलियाले घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई खेलको सिरिजका लागि १३ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी प्याट कमिन्सले गर्नेछन्। टोलीमा स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रिन, जोस हेजलउड, ट्राभिस हेड, जोस इङ्ग्लिस, मार्नस लाबुशेन, नाथन लायन, स्टिभ स्मिथ, मिचेल स्टार्क, जेक वेदराल्ड र बो वेब्स्टर समावेश छन् ।
४- माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो । अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् । कार्यवाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के. सी. को संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो । टोलीको सदस्यहरुमा टोलीले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य थिए । प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ । यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा. पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ । भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास र व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ । विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।
५- नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सेवाकै क्रममा भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा गुण्डागर्दीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै आकस्मिक कक्षमा उपचारका क्रममा गम्भीर मुटुरोगीको निधन भएपछि घटनाको यथार्थ नबुझी अस्पतालमा तोडफोड गरिएको तथा विवाद समाधानका लागि छलफलमा जाँदै गरेका मेडिकल अफिसर डा. प्रमोद राममाथि करिब ४०-५० जनाको समूहले मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेको भन्दै घटनाको कडा भर्त्सना गरेको हो । संघले यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत सुरक्षा कमजोर बनाउनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने जनाएको छ । संघले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न तथा स्वास्थ्य संस्थामा सुरक्षित र भयरहित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। संघले आक्रमणमा परेका चिकित्सकसहित आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले निलम्बन गरेकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ । निलम्बनको निर्णय तत्काल फिर्ता लिन र चिकित्सकलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन पनि संघले आग्रह गरेको छ । संघले घटनामा संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही नभए आन्दोलनका कार्यक्रमसहित थप कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
६- सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ । ईपीएस कोरिया शाखाका अनुसार सन् २०२६ का लागि प्रथम चरणको आवेदन सोमबारदेखि खुला हुने भएको हो । आवेदन जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने र आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ । शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७२ सय हुने उल्लेख छ । जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा पनि १ हजार कोटा तोकिएको छ । प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुने साथै कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने शाखाले उल्लेख गरेको छ । शाखाले प्रथम चरणको परीक्षामा उतिर्णहरुलाई दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मुल्यांकन मा सहभागी भइ उतिर्ण भएपछि मात्र अन्तिम छनौटमा पर्न सक्ने जनाएको छ ।
७- काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौथो हार बेहोरेको छ । पाकिस्तानको इस्लामाबादमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो र तेस्रो सेट जितेपनि बंगलादेशले खेलमा कमब्याक गर्दै अन्तिमका दुवै सेट जितेर खेल ३-२ ले जितेको हो । बंगलादेशले खेल १८-२५, २५-१९, २१-२५, २५-२३ र १५-११ ले जितेको हो । नेपालले प्रतियोगितामा यसअघि खेलेका तीन खेलमा लगातार हार बेहोरेको थियो । नेपालले पाकिस्तानसँग ३ सेटको सोझो सेटमा पराजित भएको थियो भने श्रीलंकासँग ३-२ ले र काजकिस्तानसँग पनि ३-२ ले पराजित भएको थियो । नेपालको ४ खेलमा तालिकामा ३ अंक जोडेको छ । अब नेपालले अर्को खेल नेपालले सोमबार उज्बेकिस्तानसँग खेल्ने तालिका छन् । प्रतियोगितामा नेपालसहित पाकिस्तान, काजकिस्तान, उज्बेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी रहेका छन् ।
८- धनगढी उपमहानगर प्रमुख गोपाल हमालले गेटा मेडिकल विश्वविद्यालयमा यही शैक्षिक सत्रबाटै एमबीबीएस तहको पठनपाठन सुरु हुनुपर्ने बताएका छन् । हमालले गेटा मेडिकल कलेज अहिले विश्वविद्यालयको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अब थप ढिलाइ नगरी यही शैक्षिक सत्रबाटै पठनपाठन सुरु हुनुपर्ने बताएका हुन् । उनले विश्वविद्यालयका पदाधिकारी नियुक्ति लगायतका विषयहरू त्यति महत्वपूर्ण नरहेको उल्लेख गर्दै मुख्य प्राथमिकता शैक्षिक गतिविधि सुरु गर्नु र सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नु रहेको बताए । उनले भनेका छन्- ‘को पदाधिकारी बन्यो वा बनेन भन्ने विषय तपसिलको कुरा हो । धेरै लामो प्रतीक्षापछि गेटा मेडिकल कलेज सही दिशामा अघि बढेको छ। अब कुनै पनि बहानामा यसको गति रोकिनु हुँदैन । नगर प्रमुखले गेटा मेडिकल कलेजको पूर्वाधार विकास समितिको नेतृत्वसँग आफू प्रत्यक्ष रूपमा जोडिएको अनुभव पनि स्मरण गर्दै यसअघि डा. चेतराज पन्तको अध्यक्षतामा पूर्वाधार विकास समिति रहेको र उनको कार्यकाल सकिएपछि शिक्षा मन्त्रालयले अधिकार दिएअनुसार धनगढी उपमहानगरपालिकाले समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको र सो जिम्मेवारी आफूले नै निर्वाह गरेको हुँदा यस विषयमा आफूलाई पर्याप्त जानकारी रहेको उनको भनाइ छ । उनले सुदूरपश्चिमका नागरिक गेटा मेडिकल विश्वविद्यालयसँग भावनात्मक रूपमा जोडिएको उल्लेख गर्दै अब कुनै अन्योल वा शंका नगरी यही शैक्षिक वर्षमै कम्तीमा एमबीबीएसको पठनपाठन सञ्चालन हुने वातावरण बनाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भनेका छन्- ‘हाम्रो स्पष्ट भनाइ छ, जसरी भए पनि पढाइ छिटो सुरु होस् र जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकून्। यही उद्देश्य पूरा गर्न सबै पक्षले आवश्यक सहयोग गर्नुपर्छ ।’
९- नेपाली काँग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । नेकपा एमाले नेता चेतनारायण आचार्य नेतृत्वमा रहेको प्रदेश सरकारबाट काँग्रेसका पाँच मन्त्रीहरूले सामुहिक राजीनामा दिने तयारी गरेका छन् । उनीहरुले कांग्रेस संसदीय दलमा सामूहिक राजीनामा बुझाएको र अब संसदीय दलले नै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने बताइएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिन लागेको हो । लुम्बिनी प्रदेशमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी रहेका छन् । अब लुम्बिनी प्रदेशमा एमालेकै नेतृत्वमा नेकपासँगको सहकार्यमा सरकार बन्ने भएको छ । नेकपासँगको सहमतिमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ । ८३ सदस्यीय प्रदेस सभामा एमालेका २९, काँग्रेसका २७, नेकपाका १३ राप्रपाका ४, जसपा नेपाल र जनमतका ३-३, जसपाका २ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक एक रहेका छन् ।
१०- त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डीन कार्यालयले एमबीएस प्रथम सत्रको एमजीटी ५१५ ‘अर्गनाइजेशन बिह्याावियर’ विषयको प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको छ । व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको आइतबार बसेको बैठकले प्रश्नपत्र चुहावट छानविन गर्न समिति गठन गरेको हो । त्रिविको डीन कार्यालयले एमबीबीएसको प्रश्नपत्र बाहिरिएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीउपर कानुनी कारवाही सिफारिसका लागि छानविन समिति गठन गरिएको जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न व्यवस्थापन केन्द्रीय विभागका प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् । साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डीनको कार्यालयले छानविन समिति गठन गरेको हो । परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो ।
११- रूस-युक्रेन युद्ध चलिरहेका बेला इरान र युक्रेनबीच पनि नयाँ तनाव उत्पन्न भएको छ । क्यास्पियन सागरमा आफ्ना जहाजमाथि आक्रमण भएको आरोप लगाउँदै इरानले युक्रेनका एक कूटनीतिक अधिकारीलाई बोलाएर औपचारिक विरोध जनाएको छ । यता युक्रेनले भने इरानसँग सम्बन्धित सैन्य सामग्री बोकेका जहाजलाई लक्षित गरी कारबाही गरेको दाबी गरेको छ । इरानका अनुसार क्यास्पियन सागरमा भएको आक्रमणमा उसका एक व्यापारी जहाजका एक नाविकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । घटनापछि तेहरानले युक्रेनका कूटनीतिक प्रतिनिधिलाई बोलाएर कडा आपत्ति जनाएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने क्यास्पियन सागरमा इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका जहाजमाथि आक्रमण गरिएको दाबी गरेका छन् । तर इरानी व्यापारी जहाजलाई नै प्रत्यक्ष रूपमा निशाना बनाइएको भन्ने आरोप उनले स्वीकार गरेका छैनन् । युक्रेनले इरानले रूसलाई शाहेद मानवविहीन आक्रमणकारी विमान उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएको छ । युक्रेनका अनुसार रूसले ती विमान प्रयोग गरी युक्रेनमाथि आक्रमण गर्दै आएको छ । यता राष्ट्रपति जेलेन्स्कीले रूसले पनि मध्यपूर्वमा हुने सैन्य कारबाहीका लागि इरानलाई उपग्रहबाट प्राप्त गुप्त सूचना उपलब्ध गराउँदै आएको दाबी गरेका छन् । यस घटनाले रूस–युक्रेन युद्धको प्रभाव अब इरान र युक्रेनबीचको सम्बन्धमा पनि प्रत्यक्ष रूपमा देखिन थालेको विश्लेषण गरिएको छ ।
१२- नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सरकार गठनसम्बन्धी आफ्नो पार्टी र नेकपा (एमाले) बीच भएको सहमति परिस्थितिजन्य बाध्यताका कारण भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले नेपाली कांग्रेस र एमाले मिलेर सञ्चालन भइरहेका प्रदेश सरकारहरू बाँकी कार्यकालभर निरन्तर चलून् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताएका छन् । उनका अनुसार पार्टी सरकार बनाउने वा गिराउने प्रक्रियामा संलग्न हुन इच्छुक थिएन र यही धारणा कांग्रेस तथा एमालेसमक्ष पनि राखिएको थियो । तर कांग्रेस र एमाले एउटै सरकारमा बस्न नसक्ने अवस्था सिर्जना भएपछि प्रदेशसभा विघटन हुन नदिन सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनुपरेको उनले स्पष्ट पारे । श्रेष्ठले यस्तो परिस्थितिमा कांग्रेस वा एमालेमध्ये कुनै एक दलसँग सहकार्य गर्नुपर्ने अवस्था आएपछि वामपन्थी शक्तिसँग सहकार्य गर्ने पार्टीको नीतिअनुसार एमालेसँग सहमति गरिएको बताए । उनले अब प्रदेश सरकार गठनको प्रक्रियामा विगतका कमजोरी दोहोरिन नदिन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री वा मन्त्री बन्नु पार्टीको प्राथमिकता नभई प्रदेश र प्रदेशवासीको हितलाई केन्द्रमा राखेर संविधानको मर्मअनुसार समाजवादउन्मुख समृद्धिका पक्षमा काम गर्नु मुख्य उद्देश्य हुनुपर्ने उनको भनाइ छ । श्रेष्ठले सरकारका नीति, कार्यक्रम र निर्णय संविधानको भावना अनुरूप हुनुपर्ने तथा मन्त्रीहरूको जीवनशैली, कार्यशैली र राजनीतिक संस्कृतिसमेत वामपन्थी मूल्य र मान्यताअनुसार हुनुपर्ने उल्लेख गरेका छन्। यस विषयमा कुनै सम्झौता वा लापरबाही स्वीकार्य नहुने उनको भनाइ छ । उनले आफ्नो पार्टीले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको कार्यसम्पादनलाई सुरुदेखि नै पार्टीको अनुगमन तथा मूल्याङ्कन विभागमार्फत प्रमुख कार्यसम्पादन सूचकका आधारमा नियमित अनुगमन र मूल्याङ्कन गर्ने पनि बताएका छन् ।
१३- विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा चिलीको प्रतिष्ठित फुटबल क्लब कोलो-कोलोमा अनुबन्धित भएका छन् । ४० वर्षीय भोजिन्हाले विश्वकपमा स्पेन र साविक विजेता अर्जेन्टिनाविरुद्ध उत्कृष्ट बचाउ गर्दै प्रतियोगिताका सबैभन्दा चर्चित खेलाडीमध्ये एक बन्न सफल भएका थिए । क्लबले सामाजिक सञ्जालमार्फत भोजिन्हाको अनुबन्धन घोषणा गरेको छ । उक्त घोषणापछि कोलो कोलोका समर्थक मात्र होइन, चिलीभरका फुटबल समर्थकमाझ पनि उत्साह छाएको छ । चिली यस वर्ष लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको थियो । क्लब व्यवस्थापन कम्पनीका अध्यक्ष अनिबाल मोसाले भोजिन्हा छिट्टै चिली आउने जानकारी दिएका छन्। उनका अनुसार भोजिन्हाले आवश्यक स्वास्थ्य परीक्षण पूरा गरेपछि राजधानी सान्टियागोस्थित क्लबको घरेलु मैदानमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ । स्थानीय सञ्चारमाध्यमका अनुसार भोजिन्हाले क्लबसँग १८ महिनाको सम्झौता गरेका छन् । भोजिन्हाको वास्तविक नाम जोसिमार डियास हो । उनले अफ्रिकाको पश्चिमी तटमा रहेको सानो टापु राष्ट्र केप भर्डेलाई विश्वकपमा ऐतिहासिक प्रदर्शन गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । केप भर्डे अन्तिम ३२ टोलीको चरणसम्म पुगेको थियो । त्यस चरणमा अतिरिक्त समयमा अर्जेन्टिनासँग ३-२ गोलअन्तरले पराजित भएपछि टोली प्रतियोगिताबाट बाहिरिएको थियो । विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनपछि भोजिन्हाको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ । विश्वकपअघि उनका सामाजिक सञ्जालमा करिब ५० हजार अनुयायी रहेकामा अहिले यो संख्या बढेर झण्डै दुई करोड ९० लाख पुगेको छ । उनलाई विश्वकपको उत्कृष्ट टिममा समेत सामेल गरिएको छ ।
१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको १६ सयले बढेर २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर तोलाको ४४१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४३५० मा कारोबार भएको थियो ।
१५- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूको बाँकी प्रिमियम महसुल तत्काल असुल गर्न सरकारसँग माग गरेका छन् । घिसिङले सुशासनलाई पहिलो वर्षको मुख्य प्रतिबद्धता बनाएको सरकारले उद्योगहरूको अर्बौं रुपैयाँ बक्यौता असुलीमा मौन बसेको भन्दै प्रश्न उठाएका छन् । उनले लोडसेडिङको समयमा विशेष सुविधा लिएर विद्युत् उपभोग गरेका उद्योगमध्ये पहिलो किस्ता बुझाइसकेकाबाट बाँकी रकम उठाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले प्रभावकारी पहल नगरेको आरोप लगाए । घिसिङले विगतमा राजनीतिक हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भएको भए पनि अहिले करिब दुईतिहाइ बहुमतको सरकार रहेकाले कानुनअनुसार बक्यौता उठाउन कुनै बाधा नरहेको बताएका छन् । प्रशासनिक पुनरावलोकनको विषयलाई पुनः अघि सारेर असुली प्रक्रियालाई अन्योलमा पार्ने प्रयास भए त्यो सुशासन र कानुनी शासनको सिद्धान्तविपरीत हुने उनको भनाइ छ । उनले उद्योगहरूको अर्बौं रुपैयाँ बक्यौता उठाउन सरकार उदासीन देखिएको तर मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि पाँच प्रतिशत मूल्य अभिवृद्धि करको अतिरिक्त भार थप्ने निर्णय गरिएको भन्दै त्यसलाई विरोधाभासपूर्ण भनेका छन् । घिसिङले कानुन सर्वसाधारणका लागि मात्र कडा र उद्योगीका लागि लचकदार हुन नसक्ने उल्लेख गर्दै यसले सरकारप्रति गम्भीर प्रश्न उठाएको बताएका छन् । उनका अनुसार सुशासनको वास्तविक परीक्षण भाषण वा घोषणाबाट नभई कानुन सबैका लागि समान रूपमा लागू गर्ने राजनीतिक इच्छाशक्तिबाट हुने भएकाले प्रचलित कानुनबमोजिम उद्योगहरूको बाँकी बक्यौता तत्काल असुली प्रक्रिया अघि बढाएर राज्यको राजस्व संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
१६- फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण दक्षिणी युरोपमा ठूलो मानवीय संकट उत्पन्न भएको छ । यस सातामात्रै डढेलोका कारण दुई लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् भने स्पेनको भ्यालेन्सिया प्रान्तमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । यो घटनासँग सम्बन्धित पहिलो मानवीय क्षति हो । फ्रान्सले डढेलो नियन्त्रणका लागि पहिलो पटक विशाल सैन्य ढुवानी विमान परिचालन गर्दै आगो फैलिन नदिने विशेष रसायन जंगलमाथि छरेको छ । साथै, राहत तथा उद्धार कार्यलाई प्राथमिकता दिन विश्वप्रसिद्ध साइकल प्रतियोगिता टुर डे फ्रान्सको अन्तिम चरण पनि छोट्याइएको छ । फ्रान्सको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न विशेष रूपमा परिमार्जित ए चार हजार सैन्य विमानले कम उचाइबाट आगो रोक्ने रसायन छरिरहेको छ । जमिनमा हजारौँ दमकलकर्मी आगो नियन्त्रणमा खटिएका छन् । अधिकारीहरूले आगो मदिरा उत्पादनका लागि प्रसिद्ध बोर्डो सहरतर्फ फैलिन सक्ने चेतावनी दिएका छन् । फ्रान्सका गृहमन्त्री लरेन नुनेजले हावाको दिशा पश्चिमबाट पूर्वतर्फ बदलिन सक्ने भएकाले आगो बोर्डोनजिक पुग्ने जोखिम रहेको बताए । उनका अनुसार आगो नियन्त्रणका लागि खाल्डाखुल्डी खन्ने, विशेष रसायन प्रयोग गर्ने तथा अन्य सबै सम्भावित उपाय अपनाइएका छन् । आगो सहरबाट करिब ३० किलोमिटर पश्चिममा रहेको र रातभरि यसको तीव्रता केही घटेको जानकारी पनि उनले दिएका छन् । डढेलो नियन्त्रणमा सुरक्षा निकायलाई परिचालन गर्न आयोजकहरूले टुर डे फ्रान्सको अन्तिम तथा २१औँ चरणको दूरी १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटरमा सीमित गरेका छन् । स्पेनले डढेलो नियन्त्रणका लागि दुई हजार ६ सय दमकलकर्मी, प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारी परिचालन गरेको छ। उनीहरूलाई १९ वटा विमान र हेलिकोप्टरले सहयोग गरिरहेका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजका अनुसार यस वर्ष हालसम्म एक लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट प्रभावित भइसकेको छ। पछिल्लो दशकमा वार्षिक औसत क्षति करिब एक लाख हेक्टर रहने गरेको थियो। शनिबार मौसममा केही सुधार आएपछि आगो नियन्त्रणमा केही सहज भएको अधिकारीहरूले बताएका छन्। फ्रान्स र स्पेनलाई सहयोग गर्न इटाली, ग्रीस, नेदरल्यान्ड्स, पोर्चुगल, क्रोएसिया, चेक गणराज्य, स्विडेन, स्लोभाकिया, जर्मनी र स्विट्जरल्यान्डले आगो नियन्त्रणमा प्रयोग हुने विमान तथा हेलिकोप्टर उपलब्ध गराएका छन् वा परिचालन गर्ने तयारी गरेका छन् । अधिकारीहरूले अझै पनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआएकाले आगामी केही दिन अत्यन्त चुनौतीपूर्ण रहने चेतावनी दिएका छन् ।
१७- कर्णाली प्रदेशमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेका छन् । शनिबार प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री पदमा बहुमतको दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई साउन १२ गते अपराह्न ५ बजेसम्मको समय दिएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयले भनेको छ- ‘मुख्यमन्त्री यामलाल कडेलज्यूले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आज मिति २०८३/०४/०९ गते साझ ५:०० बजे दिनु भएको लिखित राजिनामा आज मिति २०८३/०४/०९ गते देखि लागु हुने गरि स्वीकृत भएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेश सभाका सदस्यलाई मिति २०८३/०४/१२ साँझ ५:०० बजे भित्र कर्णाली प्रदेशको मुख्यमन्त्री पदको लागी दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यु बाट आव्ह्वान भएको ब्यहोरा यो सूचना मार्फत जानकारी गराइन्छ ।’ मुख्यमन्त्री कँडेलले शनिबार नै प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए । त्यसपछि प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामापत्र बुझाएका हुन् । कर्णालीमा सरकार बनाउन नेकपा एमाले र नेकपाबीच सहमति भएको छ । जस अनुसार कर्णालीमा नेकपाले सरकारको नेतृत्व गर्ने भएको छ । जस अनुसार नेकपाका संसदीय दलका नेता मंगल शाही मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।
१८- रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । शनिबार साँझ करिब १७:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो । दुर्घटनामा परेको गाडीका चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र गाडीमा अन्य व्यक्ति थिए वा थिएनन् भन्ने तथा मानवीय क्षतिको यकिन विवरणसमेत प्राप्त हुन सकेको छैन । बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१९- अमेरिकी मनोरञ्जन कम्पनी प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरीबीच प्रस्तावित ११० अर्ब अमेरिकी डलरको मर्जर सम्झौता अदालतमा परेको कानुनी चुनौतीका कारण सन् २०२७ को जुनसम्म स्थगित गरिएको छ । अमेरिकाका १२ राज्य र राइटर्स गिल्ड अफ अमेरिकाले यो सम्झौताविरुद्ध मुद्दा दायर गर्दै दुई ठूला कम्पनी गाभिए प्रतिस्पर्धा घट्ने, उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र मनोरञ्जन उद्योगमा एकाधिकार बढ्ने दाबी गरेका छन् । यसअघि युरोपेली नियामक निकायले भने केही सर्तसहित सम्झौतालाई स्वीकृति दिएको थियो । सम्झौता स्थगित भएसँगै अमेरिकामा हुने भनिएका आकस्मिक अदालत सुनुवाइ पनि रद्द भएका छन् । अब दुवै पक्षले जुलाई ३१ भित्र मुख्य सुनुवाइको कार्यतालिका अदालतमा पेश गर्नुपर्नेछ । प्यारामाउन्ट र वार्नर ब्रदर्सले भने डिजिटल चलचित्र प्रसारण सेवा र प्रविधि कम्पनीसँग प्रतिस्पर्धा गर्न दुवै कम्पनीको एकीकरण आवश्यक रहेको बताएका छन् । प्यारामाउन्टले अदालतमा प्रमाणका आधारमा आफ्नो पक्ष पुष्टि गर्ने अवसर पाएको भन्दै यसलाई सकारात्मक कदमको रूपमा लिएको छ । यता राज्य सरकारहरू र हलिउडका श्रमिक संगठनहरूले भने गाभिएपछि एउटै कम्पनीको अत्यधिक प्रभाव बढ्ने, लेखक तथा प्राविधिकको सौदाबाजी क्षमता कमजोर हुने, नयाँ सिर्जनाका अवसर घट्ने र दर्शकको छनोट सीमित हुने तर्क गरेका छन् । अदालतबाट अन्तिम निर्णय नआएसम्म वा सन् २०२७ जुन १ सम्म दुवै कम्पनी छुट्टाछुट्टै सञ्चालनमा रहनेछन् । प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरीबीच २०२६ को फेब्रुअरी २७ मा मर्जर सहमति भएको थियो ।
२०- भारतले जिम्बाब्वेलाई दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९० रनले हराउँदै तीन खेलको सिरिज २-० को अपराजित अग्रता बनाएको छ । शनिबार साँझ सम्पन्न खेलमा लगातार दोस्रो जितसँगै भारतले एक खेल बाँकी रहँदै सिरिज आफ्नो पक्षमा पारेको हो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१९ रनको विशाल योगफल तयार गरेको थियो। जवाफमा जिम्बाब्वेको टोली १७ दशमलव ५ ओभरमा १२९ रनमै समेटियो । २२० रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले सुरुदेखि नै कमजोर प्रदर्शन गर्यो । पावरप्लेभित्रै तीन विकेट गुमाएको टोली त्यसपछि खेलमा फर्किन सकेन । जिम्बाब्वेका लागि ब्रायन बेनेटले सर्वाधिक ३२ रन बनाए । तदिवानाशे मारुमानीले २४, रेयान बर्लले २० तथा ब्राड इभान्सले १९ रन जोडे । भारतका अभिषेक शर्माले सर्वाधिक तीन विकेट लिए । पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका यश ठाकुर र प्रिन्स यादवले समान दुई-दुई विकेट हात पारे । रवि बिश्नोई, शिवम दुबे र तिलक वर्माले एक–एक विकेट लिए । यसअघि टस जितेको जिम्बाब्वेले भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। भारतका इशान किशन र तिलक वर्माको अर्धशतकीय इनिङ्सको मद्दतमा भारतले प्रतिस्पर्धात्मकभन्दा पनि बलियो योगफल खडा गर्यो । भारतले २९ रनमै दुई विकेट गुमाए पनि कप्तान श्रेयस अय्यर र इशान किशनले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । त्यसपछि इशान र तिलकले चौथो विकेटका लागि ९४ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई ठूलो स्कोरतर्फ डोर्याए । इशानले ४४ बलमा नौ चौका र दुई छक्कासहित सर्वाधिक ८१ रन बनाए । तिलक वर्मा २९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६० रनमा अविजित रहे। कप्तान श्रेयस अय्यरले २५, वैभव सूर्यवंशीले २०, रिंकु सिंहले १२, अभिषेक शर्माले आठ तथा शिवम दुबेले अविजित छ रन जोडे । जिम्बाब्वेका लागि ब्लेसिङ मुजारबानी, रिचार्ड नगरावा, ब्राड इभान्स, न्युम्यान न्यामाहुरी र ब्रायन बेनेटले समान एक–एक विकेट लिए । यो जितसँगै भारतका कप्तान श्रेयस अय्यरले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज जित्न सफल भएका छन् । सूर्यकुमार यादवपछि टोलीको नेतृत्व सम्हालेका श्रेयसको सुरुआत सुखद थिएन । उनको कप्तानीमा भारतले आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्ध सिरिज गुमाएको थियो भने सुरुआती सात खेलमा जित निकाल्न सकेको थिएन । तर जिम्बाब्वे भ्रमणमा उनले पहिलो शृंखला जित्ने सफलता हात पारे । भारतले यस खेलसँगै एकै पात्रो वर्षमा नवौँ पटक टी- २० क्रिकेटमा २०० भन्दा बढी रन बनाउने उपलब्धि पनि दोहोर्याएको छ । यससँगै भारतले सन् २०२४ मा बनाएको एक पात्रो वर्षमा नौ पटक २०० भन्दा बढी रन बनाउने आफ्नै कीर्तिमानको बराबरी गरेको छ। सन् २०२३ मा भारतले सात पटक यस्तो उपलब्धि हासिल गरेको थियो ।


