कनिका खबर
मंसिर १५, काठमाडौं
न्युजिल्याण्ड र वेस्ट इन्डिजबीचको अन्तिम तथा तेस्रो टी–ट्वान्टी खेल रद्द भएको छ । न्युजिल्याण्डको माउन्ट माउनगानुईमा आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएपछि खेल नतिजा बिहीन सकिएको हो । बे ओभलमा वेस्ट इन्डिजले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो । भारी वर्षा हुनु अघि वेस्ट इन्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको थियो । अन्तिम खेल रद्द भएसँगै ३ खेलको सिरिज न्युजिल्याण्डले २–० ले जितेको छ । घरेलु टोलीले सुरुवाती दुई खेलमा लगातार जित निकालेको थियो । न्युजिल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा न्युजिल्याण्डले ७२ रनको जित निकालेको थियो ।