तरकारीमा बिचौलियाको हालिमुहाली – Kanika Khabar
Friday, April 26Nepali News Portal

तरकारीमा बिचौलियाको हालिमुहाली

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ५, दाङ ।
लकडाउनको समय छ । किसानका खेतबारीमा लटरम्म तरकारी फलेका छन् । लकडाउका कारण उत्पादन भएका तरकारीलाई बजार व्यवस्थापन गर्न कठिन भएको छ । यस्तो अवस्थामा बिचौलियाहरुले किसानको तरकारीमा रजाइँ गर्दै आएका छन् । एकातिर किसानले उत्पादित तरकारीको सही मूल्य पाएका छैनन् भने अर्कोतिर उपभोक्ताले महङ्गो मूल्य तिर्नु परेको छ । किसान र उपभोक्ता बिचको पैसा बिचौलियाको भागमा पर्दै आएको छ ।
लमही नगरपालिका वडा नम्बर ४ घुम्नाका रञ्जित चौधरीको १७ कठ्ठा जमिनमा लटरम्म तरकारी फलेको छ । करेला, बोडी, भिन्डी लगायतका तरकारी फलाएका रञ्जित आफ्नो उत्पादन विक्री गर्न बजारसम्म पुग्न सक्दैनन् । कारण— लकडाउन । जिल्लाका बिभिन्न बजारहरुबाट तरकारी व्यापारीहरु उनको बारीमै तरकारी खरिद गर्न पुग्छन् । तर रञ्जितले आफूले उत्पादन गरेको तरकारीको मूल्य तोक्न पाउँदैनन् । उनै ब्यापारीहरुले मूल्य तोकिदिन्छन् । लकडाउनका कारण बजारसम्म तरकारी पुर्याउन नसकेका रञ्जितको अप्ठ्यारो बुझेका ब्यापारीहरुले तरकारीको मूल्य प्रतिकिलो १० रुपैयाँ तोकिदिन्छन् । जब कि उनै ब्यापारीहरुले उही तरकारी बजार ल्याएर ७ गुणा बढी मुल्य ७० रुपैयाँ किलोसम्म विक्री गर्ने गरेका छन् । ‘हामीहरुलाई परेको लकडाउनको समस्यामा ब्यापारीहरु राम्रोसँग खेल्न पाएका छन्, हाम्रो उत्पादनको मूल्य उनीहरुले निकै सस्तो तोकिदिन्छन्,’ उनले भने ‘१० रुपैयाँ किलोको भाउमा तरकारी बेच्नु परिरहेको छ, व्यापारीहरु यो भन्दा एक रुपैयाँ पनि बढ्न मान्दैनन् ।’ बिगतका बर्षहरुमा यही समयमा रञ्जितले ४० देखि ५० रुपैयाँ किलोका दरले तरकारी विक्री गर्दै आएका थिए । लकडाउनका कारण किसानहरुबाट मनग्य लाभ लिन सकेका ब्यापारीहरुकै कारण आफ्नो लगानी यसपालि चौपटै हुने रञ्ीितले दुखेसो गरे । ‘बिस हजार रुपैयाँ त बिउमा मात्रै लगानी भएको छ, यही रकम पनि उठेको छैन,’ उनले भने ‘अँझ जोतभोग, मल लगायतको खर्च त चोखै छ ।’ हिजोआज १० रुपैयाँ प्रति किलोका दरले तरकारी खरिद गर्दै आएका व्यापारीहरुले अझ मूल्य झार्ने मनसाय बनाईरहेका छन् । लकडाउनका लम्बिदै गए तरकारीको मूल्य १० रुपैयाँ भन्दा पनि तल झर्ने भन्दै रञ्जितले भने ‘१० रुपैयाँ भन्दा पनि मूल्य तल झर्यो भने त बारीमै खेर जाओस्, विक्री गर्दैनँ ।’
घुम्ना गाउँकै कालीचरण चौधरीले लकडाउन खुल्ने आशमा गाउँमा पुगेका व्यापारीहरुलाई लामो समयसम्म तरकारी विक्री गरेनन् । १४ कठ्ठा जमिनमा फलेको तरकारी छिप्पिदै जान थाल्यो, लकडाउन झनै लम्बिदै गयो । अन्ततः लकडाउनको मौका छोपेर सस्तो मूल्यमा तरकारी खरिद गर्न पुग्ने ब्यापारीहरुका अगाडि उनी पनि झुक्नै पर्यो ।
सोही गाउँका शेरवहादुर चौधरी लकडाउनका कारण यसपालि लगानी डुब्ने पिरलोमा छन् । बजार पुगेर तरकारी विक्री गर्न पाउने अवस्थै रहेन । ६ कठ्ठा जग्गामा फलेको भिन्डी छिप्पिदै जान थाल्यो । १÷१ कठ्ठामा लगाएको बोडी र करेला पनि खेरै जाने अवस्था आउन थाल्यो । बारीमै पुगेका व्यपारीहरुले तरकारीको मूल्य तोकिदिए । ‘१० रुपैयाँ किलो तरकारी विक्री गरेर त हाम्रो लगानी पनि उठ्दैन,’ उनले भने ‘तर बारीमै तरकारी खेर जानु भन्दा १० रुपैयाँ किलोकै दरले भए पनि बेच्न बाध्य भएँ ।’
लमही नगरपालिका वडा नम्बर ३ बनगाउँकी शोभापती चौधरी बिहानै तरकारी बोकर लमही बजार तर्फ लाग्छिन् । गाउँमा १० रुपैयाँ प्रतिकिलोका दरले तरकारी विक्री गर्नुभन्दा आफै बजारसम्म पुग्दा महङ्गो मूल्य पार्न सकिएला भनेर । लमही बजारमा पुग्दा प्रति किलोको मूल्य २० रुपैयाँ सम्म पार्छिन् उनी । तर लकडाउनको उलंघन गरेर बजारसम्म पुग्ने उनलाई तरकारी विक्री गर्न सहज पनि छैन । ‘सस्तोमा के विक्री गर्ने भनेर आफै विहानै तरकारी बोकेर लमही बजार सम्म पुग्छु,’ उनले भनिन् ‘प्रहरीसंग लुकेर हिँड्नु पर्छ, धेरै पटक त हामीलाई प्रहरीले लखेटेका पनि छन् ।’ थोकमा बारीमै खरिद गर्न जाने ब्यापारीहरुले दिने अति कम मूल्यले आफ्नो लगानी नै नउठ्ने भन्दै लकडाउन छिचोलेर बजारसम्म पुग्नु उनी आफ्नो बाध्यता सुनाउछिन् । ‘थोकमा विक्री गरेर घाटा हुने नै हो,’उनले भनिन् ‘त्यो भन्दा आफै तरकारी बोकेर बजारका टोलटोलका घरघरमा पुगेर विक्री गर्ने गरेकी छु ।’ उनले ६ कठ्ठा जमिनमा तरकारी खेती गरेकी छिन् । देउखुरीको बनगाउँ, सीसहनीयाँ, गढवा, घुम्ना लगाएतका क्षेत्र लामो समयदेखि तरकारी पकेट क्षेत्रका रुपमा स्थापित भएका छन् । व्यवसायिक तरकारी खेती गर्दै आएका यहाँका किसानहरुले उबाजेको तरकारीमा जहिल्यै स्थानीय व्यापारीहरुको मनमौजी चल्ने गर्दछ । तथापी अहिले लकडाउनका कारण यी किसानहरु थप मारमा परेका छन् । किसानको बारीमा फलेको तरकारीमाथि यिनै ब्यापारीहरुको बोलबाला चल्ने गर्दछ । ‘बिगतका बर्षमा पनि बिचौलीयाहरुले आफै मूल्य तोकिदिन्थे, र हामीहरुले उनीहरुले भनेकै मुल्यमा विक्री गर्दै आयौँ,’ देउखुरीका किसानहरुको दुखेसो छ ‘तर विगत भन्दा अहिले त लकडाउनको कारण देखाएर निकै सस्तो मूल्य लगाईदिएका छन्, हामीहरुलाई लकडाउनले साह्रै मर्कामा पार्यो ।’
गाडी लिएरै किसानको बारीसम्म पुग्ने व्यापारीहरुले किसानहरुबाट खरिद गरेको तरकारी बजार पुर्याएर भने निकै महंगोमा विक्री गर्दै आएका छन् । करेला, भिन्डी , बोडी प्रति किलो १० रुपैयाँका दरले खरिद गर्ने ब्यापारीहरुले उही तरकारी बजार पुर्याएर प्रतिकिलो ६० देखि ७० रुपैयाँ सम्म विक्री गर्दै आएका छन् । यसैगरी ५ रुपैयाँ किलोका दरले किसानबाट खरिद गरेको लौका व्यापारीहरुले बजार पुर्याएर ३० देखि ४० रुपैयाँ प्रतिकिलोका दरले विक्री गर्दै आएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्