कनिका संवाददाता
जेठ ५ दाङ ।
घोराही उपमहानगरपालिकाले सबै वडाहरुलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न निर्देशन दिएपछि यतिबेला वडा कार्यालयहरु क्वारेन्टाइनका लागि भवन व्यवस्थापन गर्न व्यस्त रहेका छन् । भारत नेपाल सीमामा थुप्रै नेपालीहरु अलपत्र परेपछि स्थानीय प्रशासन, स्थानीय तह र सरोकारवाला निकाय अलपत्र मानिसलाई सुरक्षित रुपमा घर फर्काउन लागि परेका हुन् । यसै सिलसिलामा हिजो बसेको घोराही उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले वडा कार्यालयहरुलाई बाहिरबाट आउने आआफ्ना वडाका मानिस राख्नका क्वारेन्टाइनको व्यवस्थापन गर्न निर्देशन जारी गरेको थियो ।
कार्यपालिकाको निर्देशन अनुसार नै केही वडाहरुले क्वारेन्टाइन भवन र बेडको व्यवस्थापन गरिसकेका छन् भने कही वडाहरु चाँजोपाँजो मिलाउन लागिरहेका छन् । यसै सिलसिलामा वडा नं. १५ ले घोराही रहेका कल्पु धर्मशालालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरे लगत्तै विवाद सुरु भएको हो । धर्मशाला व्यवस्थापन समिति तथा त्यस क्षेत्र वरिपरिका टोल विकास समितिले यसको चर्को विरोध गर्दै आएका हुन् ।
कल्पु धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष नारायण गुप्ताको अध्यक्षतामा बसेको बैठकले राम जानकी टोल, राप्ती टोल, शिवमन्दिर टोल,कल्पु टोल र स्थानीय टोलवासीको व्यापक विरोध भएका कारण धर्मशालालाई क्वारेन्टाइनका रुपमा उपलब्ध गराउन नसक्ने निर्णय गरेको छ । बैठकमा स्थानीय टोलवासीहरुको समेत उपस्थिति रहेको थियो ।