मनिषाको बहानामा एउटा देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका पिछलग्गु पत्रकार – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

मनिषाको बहानामा एउटा देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका पिछलग्गु पत्रकार

    मा प्रकाशित

(नेपालले आफ्नो अतिक्रमित भूभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि आम नेपालीमा खुशी छायो । नेपाल बाहिर बसोबास गर्ने नेपालीमा पनि हर्षको वर्षात भयो । यसैक्रममा अभिनेत्री मनिषा कोइरालाले पनि यसमा खुशी व्यक्त मात्र गरिनन् आम नेपालीसँग साटिन् पनि । मनिषाले सामाजिक सञ्जालमा व्यक्त गरेको यस्तो खुशीयुक्त अभिव्यक्तिले केही भारतीय मिडियाहरु र पत्रकारहरुलाई अपाच्य बन्न पुग्यो । यहाँसम्म कि ‘खान्छन् भारतको गीत गाउँछन् चीनको’ जस्तो छुद्र र दरिद्र भाषाको प्रयोग समेत गर्न पछि परेनन् । भारतीय मिडियाको यस्तो छुद्रताप्रति भारतीय पत्रकार आनन्द स्वरूप बर्माले एउटा लेख नै लेखे । यहाँ पत्रकार गनी अन्सारीद्वारा भावानुवाद गरिएको प्रस्तुत लेखलाई प्रकाशन गरिएको छ । )

कुरा हिजोको हो । टेलिभिजन स्क्रिनमा मोटो अक्षरमा आयो “भारतको खान्छौ, चीनको गीत गाउँछौ ।” त्यसपछि शुरू हुन्छ अभिनेत्री मनिषा कोइरालामाथि तीनजना समाचारवाचकद्वारा आक्रमण ती समाचारवाचक जसले हरेक बिहानी एबीपी न्यूज च्यानलमा ‘नमस्ते भारत’ नामक कार्यक्रम चलाउँछन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभाग भन्दै नेपालद्वारा जारी नक्साका सम्बन्धमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा गरिएको ट्वीटबारे मनिषाले गरेको एउटा ट्वीट । त्यसमा उनले लेखेकी थिइन्, “हाम्रो सानो देशको गरिमा राखेकोमा धन्यवाद । तीन महान् देशीबीच शान्तिपूर्ण र सम्मानजनक संवादको हामीले अपेक्षा गरिरहेका छौँ ।” बस यति नै । अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभुता र आत्मसम्मानलाई रेखाङ्कित गरेको एउटा टिप्पणी ।

समाचारवाचक विकास भदौरियाले भारतमा मनिषा कोइरालाले अथाह पैसा र नाम कमाएको भन्दै अहिले आएर उनी भारतविरुद्ध चीनको पक्षमा उभिइन् भन्ने कुरा गरे । उनले भने, “खान्छन् भारतको तर गीत गाउँछन् चीनको ।” यी समाचार च्यानलहरूको बौद्धिक दरिद्रता देखेर आश्चर्य लाग्छ । के अब समाचार च्यानलमा पढेलेखेका सम्पादकको अस्तित्व नै छैन ? के अनपढहरूको जमातले नै कुन कुरा प्रसारण हुने र कुन कुरा नहुने भन्ने निर्धारण गरिरहेका छन् ? अथवा हरेक च्यानलमा पढेलेखेका सीमित मानिसहरू मौन बस्न अभिशप्त छन् ?

यी प्रश्नहरूका जवाफ दिँदै मेरा एक युवा पत्रकार मित्रले भने, खासमा मोदी सरकार आएपछि र खासगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘देशद्रोही’ कित्तामा बाँड्न शुरू भएको छ । यो तिनै कित्ताभित्र हरेक समाचारलाई ढाल्ने कुरा हो । एउटा मापदण्ड के बनिरहेको छ भने समाचारलाई त्यसरी प्रस्तुत गर्दा संस्थापन पक्षधर भइरहन सकिन्छ । जसलाई साँच्चै पत्रकारिता गर्नुछ उनीहरूले यी च्यानलहरूभन्दा बाहिर विकल्प खोजून् ।

दिउँसो भएपछि यी र यस्ता समाचारहरू बहसको रूप लिने च्यानलमा लगभग चलन नै भइसकेको छ । समाचारको बागडोर च्यानलको सबैभन्दा समझदार र अनुभवी वाचिका रोमाना इसार खानको हातमा पुग्यो तर उनले पनि बिहानमा जस्तै त्यो समाचारलाई प्रस्तुत गरिन् । रोमानालाई पनि लागिरहेको थियो कि मनिषालाई भारतले सबैथोक दिए पनि अहिले उनी चीनको पक्षमा उभिएकी छन् ।

एक समझदार समाचारवाचक सत्ताको दबावमा कसरी जानीनजानी मूर्खताको दलदलमा भासिँदै जान्छ भन्ने कुराको एउटा गतिलो उदाहरण रोमाना हुन् । रोमानाको प्रश्न थियो “७० वर्षको अवधिमा के पहिलो पटक नेपालले भारतसँग टाउको उठाएर कुरा गर्ने कोसिस गरिरहेको छ ?” यो वाक्य कुनै पत्रकारको हुनै सक्दैन, बरू एउटा सानो छिमेकी देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका कुनै सदस्यको मात्र हुन सक्छ ।

कार्यक्रममा दुईजना अतिथि थिए — भाजपाका प्रेमशङ्कर शुक्ला र भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल जीडी बक्शी । दुबै जनालाई नक्सा प्रकरणबारे पूर्ण जानकारी थिएन । चीन र पाकिस्तानविरुद्ध त विनातयारी जतिबेला पनि बोल्न सकिन्छ । दुबै अतिथिले चिनियाँ षड्यन्त्रबारे कुरा गरे र जनरल बक्शीले त्यसका लागि अघिल्लो सरकारको आलोचना गरे । अघिल्लो सरकारले जेएनयूका वामपन्थीहरूलाई नेपाल पठाएर माओवादीहरूलाई बलियो बनाउन लगाएको र त्यसको मूल्य अहिले चुकाउनुपरेको उनले आरोप लगाए । यो ग्रहकै “एक मात्र हिन्दूराष्ट्र” लाई बचाउन गुहार गर्दै उनले आफ्नो ज्ञानको अवस्था प्रदर्शित गरे । कार्यक्रमका अर्का ज्ञानी अतिथि शुक्लाले नेपालका पूर्वमाओवादी नेता प्रचण्डलाई जेएनयूले हुर्काए बढाएको (राजनीतिक रूपमा) बताए ।

जब कि जेएनयूसँग प्रचण्डको कहिल्यै कुनै साइनो नै भएन । निःसन्देह बाबुराम भट्टराईले त्यहाँ पीएचडी गरेका हुन् । समाचारवाचिका रोमानालाई यो लागेको हुनुपर्छ कि कार्यक्रमका ती दुई अतिथिलाई धेरैबेर स्क्रिनमा स्थान दिइराख्न उपयुक्त नहुन सक्छ । अतः उनले दुई जनाको आरोपबारे जवाफ दिन विपक्षी दल कांग्रेसका कोही उपस्थित नभएको भन्दै कार्यक्रमको समापन गरिन् ।

त्यो टेलिभिजन कार्यक्रममा तर्कपूर्ण ढङ्गले यो कुरा हेर्न पाइएन कि कालापानी, लिपुलेक विवाद वस्तुतः के हो र दुई देश कहाँ चुके जसका कारण स्थिति तनावपूर्ण हुन पुग्यो । समय छँदै संवादमार्फत किन समस्याको समाधान खोजिएन ? नेपालका दुई छिमेकी देश छन् — भारत र चीन । के कसैले यो विषयमा चर्चा गरे कि भारतसँग सांस्कृतिक, सामाजिक र भौगोलिक निकटता हुँदाहुँदै नेपाल किन चीनसँग नजिकिँदै गएको भान हुँदैछ ? यी कुराहरू नगरेर चीनको इशारामा नेपालले नयाँ नक्सा जारी गरेको भन्नु समस्याको गहिराइसम्म पुग्नबाट पन्छिनु मात्रै हो ।

वास्तवमा कालापानीमा भारतले र लिपुलेकमा चीनले नेपाललाई डसेको छ । यो कुरा शासक र तिनका पिछलग्गु पत्रकारले बुझून् । सानो देश सानो सम्प्रभुता भन्ने औपनिवेशिक मानसिकताबाट मुक्त होऊन् । कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतका आधारमा कुनै देशको सम्प्रभुतालाई मापन गर्न मिल्दैन । जबसम्म यो कुरा बुझ्दैनौ तबसम्म छिमेकीबाट घृणा पाइरहन्छौ ।

[भावानुवाद : गनी अन्सारी ]

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्