उद्धारलाई प्राथमिकतामा राख्न प्रमुख सचेतक थापाको आग्रह – Kanika Khabar
Thursday, August 27Nepali News Portal

उद्धारलाई प्राथमिकतामा राख्न प्रमुख सचेतक थापाको आग्रह

    मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवामा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको तत्काल उद्धार, उपचार तथा सुरक्षित पुनर्स्थापनाका लागि सरकारसँग आग्रह गर्नुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले रसुवामा भएको जनधनको क्षतिको पूर्ण विवरण अझै प्राप्त भइनसकेको भए पनि प्रारम्भिक रूपमा प्राप्त दुःखद खबरले आफूलाई स्तब्ध र मर्माहत बनाएको बताउनुभयो।

उहाँले विपत्तिको समयमा राजनीति भन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो। “विपद्मा परेका नागरिकले राज्य हाम्रो साथमा छ, सरकार हाम्रो दुःखमा उभिएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ,” उहाँले भन्नुभयो।

थापाले बेपत्ता नागरिकको तत्काल खोजी, घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारको सुरक्षित व्यवस्थापन र प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तत्काल पुर्‍याउन सरकारसँग माग गर्नुभयो। साथै, क्षतिको यथार्थ विवरण संकलन गरी पुनर्स्थापना तथा पुनर्निर्माणका कामसमेत ढिलाइ नगरी अघि बढाउन उहाँले आग्रह गर्नुभयो।

प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाली कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले संकटको समयमा सरकारलाई सहयोग गर्नु राजनीतिक जिम्मेवारी मात्र नभई मानवीय दायित्वसमेत भएको बताउनुभयो।

उहाँले रसुवाका दुःखमा सिंगो नेपाल एकजुट भएर उभिएको सन्देश दिनुपर्ने उल्लेख गर्दै सरकारलाई ढिलाइ नगरी तत्काल उद्धार तथा राहतका काममा जुट्न आग्रह गर्नुभयो। पीडित नागरिकले राज्य आफ्नो साथमा रहेको अनुभूति गर्ने गरी प्रभावकारी रूपमा काम गर्नसमेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्