निर्वाचनको तयारी तीव्र बनाऔँ : प्रधानमन्त्री – Kanika Khabar
Sunday, October 25Nepali News Portal

निर्वाचनको तयारी तीव्र बनाऔँ : प्रधानमन्त्री

    मा प्रकाशित

माघ २७, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७ र २७ मा हुने मध्यावधी निर्वाचनको तयारी तीव्र बनाउन निर्वाचन आयोगलाई निर्देशन दिनुभएको छ । आज काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीको कामलाई अघि बढाउन निर्देशन दिनुभएको हो ।

छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले हालसम्म निर्वाचनको तयारी अन्तर्गत भएका कामकारबाही बारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । हालसम्म भएको तयारी सन्तोषजनक भएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको थियो । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको सम्पूर्ण तयारीका लागि सरकारका तर्फबाट धन्यवाद दिनुभएको जानकारी गराउनुभयो।छलफलका क्रममा निर्वाचनका अवधिमा अवश्यक सुरक्षा, निर्वाचनका लागि चाहिने बजेट लगायतका विषयमा कुराकानी भएको र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्रीले जानकारी गराउनुभएको थापाले बताउनुभयो ।

प्रेस सल्लाहकार थापाले आजको भेट सरकारका तर्फबाट भएको उल्लेख गर्दै पार्टीको विवादका बारेमा छलफल नभएको दावी गर्नुभयो । आयोगका पदाधिकारीलाई भेट्न प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ् लगायत पुग्नुभएको थियो । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको हो । एक मन्त्रीले बताएअनुसार हिजो बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्