बुना घिमिरे
फागुन १, दोलखा ।
दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा वर्षौं देखि बाँझो रहेको दुई सय ३२ रोपनी जग्गामा व्यवसायिक किबी खेति थालिएको छ ।
लामो समय देखि बन्जर बनेको जमिनमा किबी लगाएपछि किसान पनि खुशी छन् । नेपालमा किबी खेतिको सुरुवात दोलखाबाटै भएको मानिन्छ । दोलखाको हावापानी किबीका लागि उपयुक्त भएकाले खेति गर्ने किसानको सङ्ख्या पनि बढिरहेको छ । कालिञ्चोक गाउँपालिकाको अगुवाइमा वडा नम्बर १ क्याङ्पोलस्थित भित्रीखर्कलाई पकेट क्षेत्र घोषणा गरी किवी खेती सुरु गरिएको छ । लामो समय देखि बाँझो रहेको जमिनमा किबी खेति गरिएपछि स्थानीयको जिविकोपार्जनमा सुधार हुने पुर्ण बहादुर थामीको अपेक्षा छ । क्याङ्पोलमा पकेट क्षेत्र घोषणा गरी किवी खेती थालिएको यो पहिलो पटक हो ।
वर्षौं देखि उपयोगमा नआएको बाँझो जमिनमा किवी खेती सुरु गरेपछि स्थानीयलाई राहत मिलेको अर्का स्थानीय सुखबीर थामीको भनाई छ । कालिञ्चोक गाउँपालिकाको नीतिमा प्रत्येक वडामा पकेट क्षेत्र विस्तार गर्ने भनिएको छ । गतवर्ष वडा नम्बर ६ र यस वर्षको पहिलो चरणमा वडा नम्बर १ को क्याङपोलमा किवि पकेट क्षेत्र घोषणा गरी २२ सय किविका विरुवा रोपीएको पालिका अध्यक्ष विन कुमार थामीले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट क्षेत्र घोषणाका लागि कम्तीमा दुई सय रोपनी जग्गा र एक हजार बिरुवा लगाउनुपर्ने प्रावधान छ । जिल्लामा किवी जोनमा सुचिकृत भएका किसानले २ सय ३५ हेक्टर क्षेत्रफलमा किबी खेती गर्दे आएका छन् ।
किबी खेतीमा किसानको आकषर्ण बढ्दै गएपछि क्षेत्र विस्तारको तयारी भैरहेको किबी जोन दोलखाका प्रमूख याम कुमार श्रेष्ठको भनाई छ । व्यावसायिक रूपमा किबी खेती गर्न स्थानीयहरू उत्साहित देखिन्छन् । त्यसैले स्थानीय सरकारले सहयोग सँगै बजारको व्यवस्थापन तर्फ ध्यान जानु आबश्यक रहेको किसानहरुको भनाई छ ।


