फागुन ३, काठमाडौँ ।
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट योगदानकर्ताले निवृत्तभरण (पेन्सन) बुझ्न पाउने भएका छन् । कोष सञ्चालन कार्यविधि दोस्रो पटक संशोधन गर्दै विशेष सापटीको रूपमा जागिरमा हुँदै ८० प्रतिशतसम्म रकम निकाल्न पाउने व्यवस्था पनि मिलाइएको छ ।
सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले कोषबाट सञ्चालनमा ल्याइएका वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८ दशमलव ३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८ दशमलव ३३ प्रतिशत रकम जम्मे हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
निवृत्तभरण योजनामा जम्मा भएको कूल रकमलाई १ सय ८० ले भाग गरी मासिकरूपमा निवृत्तभरण दिने व्यवस्था भएकोमा १ सय ८० भाजकलाई १ सय ६० कायम गरी मासिक निवृत्तभरण रकम बढाउन सक्ने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । यस्तै २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरूले चाहेमा निवृत्तभरणअन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।
यस्तै अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमै हुँदा ८० प्रतिशतसम्म विषेश सापटीको रूपमा प्रदान गरिने पनि कोषले जनाएको छ। अवकाश सुविधा योजनाअन्तर्गत नियमितरूपमा ८ दशमलव ३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वेच्छिकरूपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भइ आएको रकम, योगदानकर्ताले चाहेमा न्यूनतम आधारभूत तलबको तीन गुणाभन्दा बढी निवृत्तभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पुरा भएका योगदानकर्ताहरूको निवृत्तभरण अन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था मिलाइएको कोषले जनाएको छ । यो समाचार सिआइएनले तयार पारेको हो ।


