कनिका डेस्क
जेठ १४, दाङ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएम) ले कोरोना संक्रमतिको संख्या अझै दुई महिनासम्म बढ्दै जाने प्रक्षेपण गरेको छ । सेन्टरको आज बसेको बैठकले आगामी जुन र जुलाई महिनामा कोरोना संक्रमितको संख्या थप बढेर जाने प्रक्षेपण गरेको हो ।
नेपाली सेनाका स्वास्थ्यकर्मीसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरु सम्मिलित टोलीले कोरोना भाइरसको अन्तर्राष्ट्रिय अवस्थालाई अध्ययन गरेर यस्तो आँकलन गरेको हो । नेपाली सेनाका मेजर डा. नविन फुयाँलले कोरोना रोकथामसम्बन्धी प्रतिकार्यका लागि गरिएको गणितीय विश्लेषणबाट हामीलाई थप पूर्वतयारी गर्नुपर्ने सन्देश दिएको बताउनुभयो ।
उहाँले भारत, चीन, स्पेन, इटलीलगायतका मुलुकको अभ्यासबाट नेपालमा यस्तो प्रक्षेपण गरिएको भन्दै यो शतप्रतिशत मिल्छ नै भन्ने त होइन तर, पूर्वतयारीका संकेत रहेको उल्लेख गर्नुभयो ।
यस्तै, कोरोना भाइरसको महामारीका बेला विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्दारका लागि सीसीएमसी–अप्सले बनाएको कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको छ । कार्य योजनाबारे आज बसेको मन्त्रिपरिषद बैठकमा पनि छलफल भएको एक जना मन्त्रीले बताएका छन् । सीसीएमसीका एक अधिकृतका अनुसार कार्ययोजनामा हवाई तथा स्थलमार्गबाट आउन सक्ने नेपालीको संख्यासहित उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा उल्लेख गरिएको छ ।