कनिका डेस्क
जेठ १८, दाङ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक पटकलाई फेरि सम्पत्तिको स्वघोषणा गर्न दिनुपर्ने प्रस्ताव गर्नुभएको छ । प्रतिनिधिसभामा आगामी वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले कालो सेतो नभनी एक पटकका लागि सम्पत्तिको स्वघोषणा गर्न दिन सरकारलाई सुझाव दिनुभएको हो । सबै नागरिकको सम्पत्ति अभिलेखीकरण गर्न सरकारलाई सुझाव दिँदै उहाँले अर्बौ सम्पत्ति जमिनमा लगाउने र त्यसको कर नतिर्ने प्रवृत्ति घातक रहेको धारणा राख्नुभयो । व्यवसाय गर्दा कर लाग्ने, जग्गा किन्दा र घर बनाउँदा नलाग्ने प्रचलन अन्त्य गर्न डा.भट्टराईले सल्लाह दिनुभयो ।
शिक्षा र स्वास्थ्यमा मुनाफाका लागि लगानी गर्न नदिन सुझाउँदै उहाँले सबै दायित्व राज्यले लिनुपर्ने बताउनुभयो । शिक्षा र स्वास्थ्यमा गरिने लगानी परोपकारका लागि मात्र हुनुपर्ने उहाँको भनाइ छ ।