यस्तो छ -असार १ गतेदेखि सरकारले विद्यालय सञ्चालन गर्ने तयारी – Kanika Khabar
Friday, April 19Nepali News Portal

यस्तो छ -असार १ गतेदेखि सरकारले विद्यालय सञ्चालन गर्ने तयारी

    मा प्रकाशित

कनिका डेस्क

जेठ १९, दाङ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १८ गते एक विज्ञप्ति जारी गरी असार १ गतेदेखि वैकल्पिक विधिबाट शिक्षण सिकाइ अगाडि बढाउन संघ, प्रदेश तथा स्थानीय तहका सम्बद्ध सबै निकायहरुलाई आह्वान गरेको छ । यद्यपि मन्त्रालयको यो आह्वानलाई पहिलेजस्तै विद्यालयहरु खुल्ने भनेर पनि बुझिएको छ तर वैकल्पिक प्रणालीमा त्यस्तो रहेका छैन ।
कोभिड १९ को महामारीले सबै क्षेत्र प्रभावित भएको बेला शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा ‘वैकल्पिक प्रणलीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७’ मन्त्रालयले तयार पारेको छ । सम्भवतः असार १ गतेदेखि मन्त्रालय यही निर्देशिका बमोजिम अगाडि बढ्ने गृहकार्यमा जुटेको छ ।

यस्तो छ वैकल्पिक प्रणलीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ को पूर्ण पाठ

प्रस्तावना :

कोभिड-१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न, विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठनको सहज अवस्था सृजना गरी दूर तथा खुला शिक्षा लगायत वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्न र सामान्य अवस्थामा समेत वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट विद्यालय जाने उमेरका सबै बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गर्ने कार्यलाई सहजीकरण गर्न वाञ्छनीय भएकोले,

शिक्षा ऐन, २०२८ को दफा १९क. ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो निर्देशिका बनाई लागू गरेको छ ।

समूहगत विद्यार्थी पहिचान तथा वर्गीकरणसम्बन्धी प्रक्रिया: (१) विद्यालयले आफ्नो विद्यालयको अभिलेख अनुसार विद्यार्थीको नामनामेसी, आमा, बाबुको नाम, ठेगाना, सम्पर्क नं., विद्यार्थीको समूहकृत वर्ग र स्रोत साधनको पहुँचको अवस्था समेतको विवरण खुलार्इ सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम चालु शैक्षिक सत्रको आधारमा विद्यार्थीको गराउन नसकिने अवस्था भएमा अघिल्लो शैक्षिक सत्रको आधारमा विवरण उपलब्ध गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिमको प्राप्त विवरण समेतका आधारमा स्थानीय तहले विभिन्न विद्यालयलमा अध्ययनरत विद्यार्थी, विद्यालय बाहिर रहेका, अन्य स्थानमा अध्ययन गरिरहेका तर कोभिड-१९ लगायत अन्य विषम अवस्थामा कारण हाल स्थानीय तहको गाउँ घर वा स्थायी ठेगानामा बसिरहेका प्रारम्भिक बाल विकास तहदेखि विद्यालय शिक्षाका सबै बालबालिकाको विवरण तयार गरी दफा ३ बमोजिम समूहगत रूपमा वर्गीकरण गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम समूहगत रूपमा वर्गीकरण गरिएका विद्यार्थीहरूलाई सेवा प्रवाहमा सहज हुने अवस्था विश्लेषण गरी सम्बन्धित विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका सबै बालबालिकाहरूको समूहगत विवरण स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ ।

(५) उपदफा (४) बमोजिम प्राप्त विवरण समेतका आधारमा सिकाइ सहजीकरण कार्यक्रम सञ्चालनका लागि विद्यालयगत वा क्षेत्रगत वा वडागत वा कक्षागत वा अन्य प्रकारले समूहीकृत गर्नु पर्नेछ ।

समूहगत सिकाइ कार्यक्रमसम्बन्धी व्यवस्था: दफा ३ को उपदफा (२) बमोजिम वर्गीकृत देहायका समूहलाई देहाय बमोजिमको लक्षित कार्यक्रम सञ्चालन गरी सिकाइ सहजीकरण गर्नु पर्नेछ:-

(क) सबै किसिमको प्रविधिको पहुँच भन्दा बाहिर रहेका विद्यार्थी रहेको समूहका लागि:

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) संघीय सरकारकारबाट स्वाध्ययन वा सामग्रीको प्रीन्ट रेडी कपी तयार गरी वेवसाइटमा राख्ने, प्रदेश वा स्थानीय तहले उक्त सामग्री छपाइ गरी विद्यालयलाई उपलब्ध गराउने र स्थानीय तहले वर्कसीटहरू बनाएर वितरण गर्ने,

(३) बढीमा आठ देखि दश जनासम्मको समूह रहने गरी स्थानीय रूपमा सिकाइ केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दूरी कायम हुने गरी बसाइ व्यवस्था मिलाई श्रब्यदृष्य प्रविधि मार्फत सिक्ने सिकाउने व्यवस्था गर्ने,

(४) शिक्षकहरू वा स्थानीय समुदायमा रहेका शिक्षकहरू र शिक्षक नभएको अवस्थामा विद्यालयबाट तोकिएका स्वयम्‍सेवकबाट विद्यार्थीहरूका लागि सिकाइमा प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने व्यवस्था गर्ने,

(५)  अभिभावक शिक्षाका माध्यमबाट घर र टोलमा समेत सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

 

(ख) रेडियो, एफएममा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि:

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) केन्द्रले तयार पारेका सामग्रीहरू केन्द्रीय रेडियोबाट प्रसारण गर्ने र यी  सामग्रीहरू एफएम रेडियो र स्थानीय एफएम रेडियोहरूलाई निःशुल्क उपलब्ध गराउने,

(३)  प्रदेश र स्थानीय तहले नि:शुल्क वा न्यूनतम शुल्कमा प्रसारण गर्ने व्यवस्था मिलाउने,

(४)  स्थानीय तहले त्यहीँ उपलब्ध हुने शिक्षकलाई बोलाएर सामुदायिक रेडियोमा पढाउन लगाउने र निगरानीको जिम्मा समुदायमा रहेका शिक्षकलाई दिने र यसरी प्रसारण गर्दा अन्तरक्रियात्मक बनाउन आवश्यक प्रबन्ध गर्ने,

(५)  रेडियोबाट सुन्ने र विद्यार्थीहरूले आफैंलेअभ्यास गर्दै सिक्ने व्यवस्थाका लागि स्थानीय समुदायमा बसोबास गरिरहरेका शिक्षक र अभिभावको निगरानीको व्यवस्था र भौतिक दूरी कायम गरी चार देखि पाँच जनाको समूहमा छलफल गर्ने व्यवस्था मिलाउने,

(६)  सिकाइकै अभिन्न अंगको रूपमा विद्यार्थीले तयार पारेको लेख रचना र घरमै बसेर गरेको परियोजना कार्यलाई रेडियोमा प्रसारण गर्ने व्यवस्था मिलाउने,

(७)  रेडियो प्रसारका साथै सम्भव भएसम्म स्वाध्यायन सामग्री पनि उपलब्ध गराउने,

(८)  संघ, प्रदेश र स्थानीय तहबाट रेडियो र एफएम रेडियोबाट प्रसारण गरिने कक्षागत र विषयगत पाठहरू दोहोरो नपर्ने गरी समय तालिकालाई व्यवस्थित गर्ने,

(९)  स्थानीय तहले विषयगत रूपमा विज्ञ शिक्षकहरूको सूची तयार गरी पाठयोजना र समय तालिका समेत तयार गरी पाठ शिक्षणको प्रसारण हुने व्यवस्था गर्ने,

(१०)  सम्भव भएसम्म टोल फ्री नोटिस बोर्ड सर्भिस र बल्क एसएमएस सर्भिसको प्रयोग गर्ने,

(११)  अभिभावक शिक्षाका माध्यमबाट घर र टोलमा समेत सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

 

(ग) टेलिभिजनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि :

(१)  सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाइ सामग्रीहरू केन्द्रीय टेलिभिजनबाट प्रसारण  गर्ने,

(३)  शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट तयार भएका र प्रसारण गरिएका सामग्रीहरू नि:शुल्क सबै टेलिभिजन च्यानलहरूलाई उपलब्ध गराउने,

(४)  प्रदेशहरूले प्रदेश स्तरमा र स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका टेलिभिजनबाट प्रसारण गर्ने व्यवस्था गर्ने,

(५)  स्थानीय रूपमा सम्बन्धित शिक्षकहरूले प्रसारण गरिएका पाठहरू विद्यार्थीहरूले अध्ययन गरे, नगरेको अनुगमन गर्नुका साथै पाठ्‍यवस्तु बुझ्न कठिनाइ भए, नभएको एकिन गरी सहजीकरण गर्ने व्यवस्था मिलाउने,

(६)  संघ, प्रदेश र स्थानीय तहबाट टेलिभिजनबाट प्रसारण गरिने कक्षागत र विषयगत पाठहरू दोहोरो नपर्ने गरी समय तालिकालाई व्यवस्थित गर्ने,

(७)  स्थानीय तहले विषयगत रूपमा विज्ञ शिक्षकहरूको सूची तयार गरी पाठयोजना र समय तालिका समेत तयार गरी पाठ शिक्षणको प्रसारण हुने व्यवस्था गर्ने,

(८)  स्थानीय तहले शिक्षकहरूको सूची तयार गरी स्थानीय तहभित्र सञ्चालित टेलिभिजनबाट पाठ प्रसारण गर्ने व्यवस्थाको उत्तरदायी बनाउन सकिने,

(५)  अभिभावक शिक्षाका माध्यमबाट घर र टोलमा समेत सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

 

(घ) कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटि नभएका विद्यार्थी रहेको समूहका लागि:

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२)  अनलाइनमा तयार गरिएको सामग्रीको अफलाइन मोडमा (सिडि वा पेन ड्राइभ, हार्डडिस्क आदि) विद्यालय र स्थानीय तह मार्फत उपलब्ध गराउने,

(३)  निजी बिक्रेताहरूले बजारमा भएका पाठ्‍यक्रम विकास केन्द्रको स्वीकृत सूची भित्रका शैक्षिक सामग्रीहरू सहुलियत वा छुटमा विद्यार्थीलाई उपलब्ध गराउने,

(४)  स्थानीय रूपमा सम्बन्धित शिक्षकहरूले प्रसारण गरिएका पाठहरू विद्यार्थीहरूले अध्ययन गरे, नगरेको अनुगमन गर्नुका साथै पाठ्यवस्तु बुझ्न कठिनाइ भए, नभएको यकीन गरी सहजीकरण गर्ने,

(५)  अभिभावक शिक्षाका माध्यमबाट घर र टोलमा समेत सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

 

(ङ)  इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि :

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२)  केन्द्रीय र प्रदेशगत रूपमा अनलाइन सिकाइ सामग्रीहरूको तयारी गर्ने र अनलाइन माध्यममा उपलब्ध गराउने,

(३)  अनलाइनमा अध्ययन गर्न चाहने र सहयोग गर्न चाहनेहरूले नि:शुल्क रूपमा उपलब्धहुने सिकाइ व्यवस्थापन प्रणालीहरूलाई र खुला स्रोतलाई पनि प्रयोग गर्ने,

(४)  शिक्षा तथा मानव स्रोत विकास केन्द्र, प्रदेश सरकार, स्थानीय तहबाट उत्पादन भएका सामग्री समेत प्रयोग गरी विद्यालयहरूले अनलाइन पठन पाठन गर्ने,

(५)  अनलाइनमा प्रसारण गरिएका श्रव्यदृष्य सामग्रीहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्रले युट्युवमा अपलोड गर्ने,

(६)  पाठ्‍यक्रम विकास केन्द्रबाट तयार गरिएका र स्वीकृति प्रदान गरिएका विद्यालय तहका सबै कक्षाका पाठ्‍यक्रम, पाठ्‍यपुस्तक तथा अन्य पाठ्यसामग्री लगायत अन्य श्रव्य दृश्य सामग्रीहरू साइवर सुरक्षा निर्देशिकाको अधीनमा रही मोबाइल एप्लिकेसन विकास गरी डाउनलोड गर्न सकिने व्यवस्था गर्ने,

(७)  अभिभावक शिक्षाका माध्यमबाट घर र टोलमा समेत सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।

विद्यार्थीले आफ्नो रुची र प्राथमिकता अनुसार अध्ययन गर्न पाउने: (१) दफा ६ बमोजिमका कार्यक्रमहरूमध्ये एक भन्दा बढी कार्यक्रममा पहुँच हुने विद्यार्थीले आफ्नो रुची र प्राथमिकता अनुसारको कार्यक्रम छनौट गर्न पाउनेछन् ।

(२) दफा ६ बमोजिमका कुनै कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई स्रोत साधनको उपलब्धताका आधारमा अर्को कार्यक्रममा सहभागी गराउन सकिनेछ ।

कार्यक्रम सञ्चालन गर्नका लागि सामग्रीको उपलब्धता: (१) अनलाइन विद्युतीय सामग्रीहरू शिक्षा तथा मानवस्रोत विकास केन्द्रको पोर्टल लर्निङ्ग डट सीइएचआरडी डट इडीयू डट एनपी (learning.cehrd.edu.np) र प्रसारण भएका पाठहरु यूट्युव च्यानल डब्लुडब्लुडब्लु डट यूट्युव डट कम एनसीइडीभर्चुएल (www.youtube.com/ncedvirtual) तथा पाठ्‍यक्रम विकास केन्द्रको इपुस्तकालय डब्लुडब्लुडब्लु डट एमओइसिडिसि डट जिओभी डट एनपी (www.moecdc.gov.np) मा उपलब्ध हुनेछ र यसको लिंक शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेवसाइट (www.doe.gov.np) मा समेत रहनेछ ।

मन्त्रालयको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा मन्त्रालयको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   अन्तर मन्त्रालय तथा निकायहरू र संघ,  प्रदेश र स्थानीय तहबाट सम्पादन गरिने कामको समन्वय गर्ने,

(ख)   नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक संस्थाबाट एजुकेशनल प्याकेजलाई मात्र प्रयोग हुने गरी नि:शुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय तथा विद्यार्थीलाई नि:शुल्क डाटा प्याकेज उपलब्ध गर्ने, गराउने,

(ग)   एकीकृत शिक्षा पोर्टलको निर्माण तथा सञ्चालन, शैक्षिक टेलिभिजन च्यानल स्थापना र सञ्चालन, विद्युतीय शिक्षण सामग्री विकास, अनलाइन प्रविधि तथा उपकरण, विद्युतको वैकल्पिक व्यवस्था, भर्चुअलल्याब, इक्लाउड प्रयोगशाला र इलाइव्रेरी स्थापना, खरिद तथा सञ्चालनको लागि आवश्यक बजेटको प्राप्ति  र व्यवस्थापन सम्बन्धी कार्यहरू गर्ने,

(घ)   विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरूसंग सहकार्य गर्ने,

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   राष्ट्रियस्तरमा एकीकृत शिक्षा इ-सिकाइ पोर्टलको निर्माण गरी शैक्षिक सामग्रीहरू सर्वसुलभ रूपमा लिन सक्ने गरी विकास गर्ने,

(ख)   इ-सिकाइपोर्टलमा भएका र विकास गरिएका सामग्रीहरूलाई सिडि वा पेनड्राइभ, हार्डडिस्क, सिष्टम जस्ता अफलाइन मोडमा रुपान्तरण गरी उक्त सामग्रीका विद्युतीय कपीहरू हार्ड डिस्कमा प्रदेश र स्थानीय सरकारले प्राप्त गर्ने व्वस्था सुनिश्चित गर्ने,

(ग)   दफा ३ को उपदफा (२) बमोजिमका सबै वर्गका विद्यार्थीका लागि उपयोग गर्न मिल्ने गरी डिजिटल र छापा सामग्री तयार गर्ने र यो प्रयोजनका लागि पाठ्यक्रम र सामग्री तयार गर्ने पाठ्यक्रम विकास केन्द्र र पाठ्‍यपुस्तक तथा अन्य सामग्री छपाइ गर्ने जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृह लगायतका अन्य निकाय र संघ संस्थाका काममा समन्वय र सहजीकरण गर्ने,

(घ)   उत्पादित सबै किसिमका सिकाइ सामग्रीहरूका विषयवस्तुको समान गुणस्तर कायम गर्नका लागि आवश्यक कार्य गर्ने, गराउने,

(ङ)   विभिन्न लक्षित वर्गका लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरूले यस अघि निर्माण गरेका डिजिटल सामग्री, खुला स्रोतमा उपलब्ध शिक्षा सामग्री, व्यवसायिक रूपमा तयार भएका र बजारमा उपलब्ध सामग्रीहरूको सूची तयार गरी अध्यावधिक गर्ने र आवश्यकता अनुसार उक्त सामग्रीहरूको खरिद गरी वितरण गर्ने,

(च)   यस निर्देशिका कार्यान्वयनका लागि बजेटको प्राप्ति र त्यसको वाँडफाँड सम्बन्धी कार्य गर्ने,

(छ)   सिकाइ विषयवस्तु निर्माणका लागि संघदेखि स्थानीय तहसम्म हुने कार्यमा सबै कार्य समूहहरू बीचको समन्वयका लागि एक संयन्त्र तयार गर्ने र यसको व्यवस्थापनमा कार्य सम्पन्न गर्ने,

(ज)   अनलाइन सिकाइको प्रयोगका लागि प्रयोग हुने सिकाइ व्यवस्थापन प्रणाली, कन्फरेन्स साधन, डिजिटल विषयवस्तु, परीक्षा र मूल्याङ्कनका न्यूनतम् मापदण्ड निर्धारण तथा कार्यान्वयन सम्बन्धी कार्य गर्ने ।

प्रदेश सरकारको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा प्रदेश सरकारको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   संघ वा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इलर्नीङ पोर्टलमा भएका सामग्रीहरू प्रदेश स्तरमा टेलिभिजन तथा रेडियोबाट प्रसारण गर्ने व्यवस्था मिलाउने,

(ख)   स्थानीय तहबाट भएका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने,

(ग)   शिक्षा विकास निर्देशनालय मार्फत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने, गराउने,

(घ)   प्रदेशको शिक्षा तालिम केन्द्रको परिचालन गरेर शिक्षकको क्षमता विकाससम्बन्धी कामहरू गर्ने,इकाइमा  आवश्यक मनोपरामर्श, शिक्षक अभिभावकका लागि घरायसी विद्यालय (होम स्कूलिङ्ग) सञ्चालनका लागि तयारी गर्ने, गराउने,

(ङ)   राष्ट्रिय पाठ्यक्रम प्रारुपको परिधिभित्र रही प्रदेश स्तरमा टेलिभिजनका कार्यक्रमहरू उत्पादन र प्रदेश अन्तर्गतका टेलिभिजन तथा केवल टेलिभिजनहरूबाट प्रसारण गर्ने, गराउने,

(च)   प्रदेशबाट उत्पादन तथा प्रसारण भएका सामग्रीहरू प्रदेश सामाजिक विकास मन्त्रालय र सम्बन्धित शिक्षा विकास निर्देशनालयको वेवसाइटमा राख्ने र शिक्षा तथा मानवस्रोत विकास केन्द्रको लर्निङ प्रोटलसँग लिङ्क गर्ने,

(छ)   अनलाइनका लागि तयार गरिएका सामग्रीहरूलाई सिडि वा पेनड्राइभ, हार्डडिस्क, सिष्टमजस्ता अफलाइन मोडमा रुपान्तरण गर्ने र स्थानीय तह मार्फत वा सोझै विद्यालयले प्रयोग गर्न अनुकूल बनाउने,

(ज)   अफलाइन मोडमा तयार गरिएका सामग्रीहरूलाई पुस्तक वा पुस्तिकाका रूपमा छपाइ गरी उपलब्ध गराउने,

(झ)   प्रदेश भित्र भएका शिक्षण सिकाइका कार्यक्रमहरूको अनुगमन तथा सुपरीवेक्षण गरी आवश्यकता अनुसार प्राविधिक सहयोग गर्ने ।

 

स्थानीय तहको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा स्थानीय तहको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   दफा ३ र ४ बमोजिम स्थानीय तहमा रहेका विद्यार्थीहरूको पहिचान तथा वर्गीकरण सम्बन्धी कार्य गर्ने, गराउने,

(ख)   दफा ७ बमोजिमका सिकाइ केन्द्रहरू स्थापना गर्ने, गराउने,

(ग)   समुदायमा शिक्षकलाई सिकाइ सहजकर्ता तथा मूल्याङ्कनकर्ताको रूपमा परिचालन गर्ने र सोको अनुगमन गर्ने, गराउने,

(घ)   स्थानीय एफएमबाट स्थानीय शिक्षक तथा विद्यार्थीको सहभागितामा कार्यक्रम उत्पादन र प्रसारण गर्ने प्रबन्ध गर्ने,

(ङ)   डिजिटल वा दूर शिक्षण सामग्री प्रयोग र कोभिड-१९ सम्बन्धी सचेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्ने,

(च)   संक्रमणको अवस्था समेतलाई विचार गरी भौतिक दूरीलाई पनि कायम राख्दै गरी सिक्ने, सिकाउने अवसर मिल्ने गरी र स्थानीय रूपमा बसोबास गरिरहेका शिक्षक तथा स्वयम्‍सेवकहरूलाई सहजकर्ताको रूपमा परिचालन गर्ने, गराउने,

(छ)   अफलाइन मोडमा तयार गरिएका संघ र प्रदेशबाट उपलब्ध भएका वा अनलाइनमा उपलब्ध सामग्रीहरूलाई पुस्तक वा अभ्यास पुस्तिकाका रूपमा छपाइ गरी स्थानीय तहमा रहेका विद्यार्थीलाई उपलब्ध गराउने,

(ज)   आवश्यकताअनुसार पुराना पाठ्‍यपुस्तकको प्रयोग गर्ने व्यवस्था मिलाउने,

(झ)   विद्यार्थीलाई घरघरमा पाठ्‍यपुस्तक उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने,

(ञ)   सिकाइका लागि संकटग्रस्त समूहका लागि वडाहरूले विशेष ध्यान दिनुपर्ने व्यवस्था सुनिश्चित गर्ने,

(ट)   टेलिभिजन प्रसारणको व्यवस्था भएका स्थानीय तहले राष्ट्रिय पाठ्‍यक्रम प्रारुपको परिधिभित्र रही स्थानीय स्तरमा टेलिभिजनका कार्यक्रमहरू उत्पादन गरी टेलिभिजन र केवल टलिभिजनहरूबाट प्रसारण गर्ने, गराउने,

(ठ)   अनलाइन र अफलाइन मोडमा सिकाइ सहजीकरण गर्नका लागि शिक्षकहरूको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्ने,

(ड)   भौतिक पूर्वाधार र विद्यार्थी संख्यालाई मध्यनजर गरी भौतिक दूरी कायम गर्दै विद्यालयमा पठन पाठनको वातावरण मिलाउन सहजीकरण गर्ने,

(ड)   विद्यार्थीको सिकाइलाई सहजीकरण गर्ने कार्यमा संघस‌ंस्थाको सहकार्यमा विभिन्न माध्यमको उपयोग गरी कार्यक्रम सञ्चालन गर्ने, गराउने ।

 

सञ्चार जगत, प्रकाशन तथा प्रसारण संस्थाको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा प्रसारण संस्था र सञ्चार जगतको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   शिक्षण सिकाइ कार्यक्रमहरू नि:शुल्क वा सहुलियत शुल्कमा प्रकाशन, प्रशारण गर्ने, गराउने,

(ख)   विभिन्न प्रकारका शैक्षिक र सचेतनामूलक कार्यक्रमहरूलाई आ-आफ्नो माध्यमा प्राथमिकता दिने,

(ग)   सञ्चालनका लागि आवश्यक पर्ने माध्यम (टेलिभिजन, रेडियो तथा एफएम रेडियो) का लागि शिक्षा च्यानल,  शिक्षा रेडियो र एफएमको सञ्चालन गर्ने र उक्त च्यानल, रेडियो तथा एफएम लाई राष्ट्रिय र स्थानीय स्तरका च्यानल वितरकहरूबाट नि:शुल्क रूपमा प्रसारणको व्यवस्था गर्ने, गराउने ।

 

निजी क्षेत्रको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा निजी क्षेत्रको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   खुला रूपमा उपलब्ध भएका शैक्षिक सामग्रीहरू (भिडियो लेसन, सिकाइ सामग्री, पुस्तक जर्नल आदि) आफ्नो चिनारी सहित प्रकाशन वा प्रसारण गर्ने तथा नि:शुल्क रूपमा वितरणको व्यवस्था गर्ने, गराउने,

(ख)   संघ, प्रदेश वा स्थानीय तहलाई वैकल्पिक शिक्षा प्रणालीको व्यवस्थापन गर्न सहयोग गर्ने I

विद्यालयको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा विद्यालयको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   दफा ३ र ४ बमोजिम आफ्नो सेवा क्षेत्रमा रहेका विद्यार्थीहरूको पहिचान तथा वर्गीकरण सम्बन्धी कार्य गर्ने, गराउने,

(ख)   दफा ७ बमोजिमका सिकाइ केन्द्रहरू स्थापना तथा सञ्चालन गर्ने, गराउने,

(ग)   शिक्षकहरूलाई स्थानीय परिवेश अनुसार छापा वा डिजिटल शैक्षिक सामग्री उत्पादन गर्न र रेडियो वा टेलिभिजनमा स्रोत शिक्षकको रूपमा काम गर्न प्रोत्साहन गर्ने,

(घ)   विद्यार्थीहरूको सहभागिता र सिकाइको निगरानी तथा मूल्याङ्कन गर्ने,

(ङ)   आफ्ना विद्यार्थीका लागि तयार पारेका विद्युतीय सामग्रीहरू शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इपोर्टलमा उपलब्ध गराउने,

(च)   ओपन सोर्समा आधारित नि:शुल्क उपलब्ध हुने अनलाइन र अफलाइन सिकाइ व्यवस्थापन प्रणालीहरू उपयोग गर्ने, गराउने,

(छ)   विद्यालयले आफ्ना विद्यार्थीका साथै आसपासमा रहेका. इच्छुक अन्य विद्यार्थीलाई पनि सिक्ने अवसर प्रदान गर्ने,

(ज)   विद्यार्थीलाई घरघरमा पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(झ)   व्यवस्थापकीय प्रबन्धको विषयमा स्थानीय तहको अनुमति लिने ।

शिक्षकको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा शिक्षकको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   दफा ३ र ४ बमोजिम आफ्नो बासस्थान क्षेत्र आसपास रहेका विद्यार्थीहरूको पहिचान तथा वर्गीकरणका लागि विद्यालय र स्थानीय तहलाई विवरण उपलब्ध गराउने,

(ख)   शिक्षकले हाल आफू रहेको स्थानको जानकारी आफू बसेको वडा कार्यालय वा स्थानीय तहको शिक्षा हेर्ने निकाय तथा आफू कार्यरत विद्यालयको प्रधानाध्यापक र आफू रहेको स्थानबाट सबै भन्दा नजिक रहेको विद्यालयको प्रधानाध्यापकलाई जानकारी गराउने,

(ग)   समुदायमा स्रोत शिक्षक वा सहजकर्ताको रूपमा काम गर्न नजिकैको विद्यालय वा आफ्नो वडा कार्यालयमा वा हाल आफू रहेको स्थानीय तहको शिक्षा शाखामा सम्पर्क राख्ने,

(घ)   नयाँ शैक्षिक सत्रका लागि पाठ्‍यपुस्तक ढुवानी भै नसकेको अवस्थामा समुदायमा भएका पुराना पाठ्‍यपुस्तकको प्रयोग गरेर पढ्ने वा सिक्ने, सिकाउने कुरामा सहजीकरण गर्ने,

(ङ)   बन्दाबन्दीको कारणले समुदायमा रहेका आफूले पढाउने विद्यालयका विद्यार्थी नभएका विद्यार्थीहरूको सूची बनार्इ सहजीकरण गर्ने,

(च)   बसोबास नजिकै रहेको विद्यालयबाट व्यवस्थापन गर्ने काममा विद्यालयको आवश्यकता अनुसार सहयोग गर्ने,

(छ)   हाल प्रयोगमा आई व्यापकता पाएका अनलाइन पद्धति तथा अन्य शिक्षण सिकाइका साधनहरूलाई व्यापक रूपमा प्रयोग गर्न प्रोत्साहन गर्ने,

(ज)   खुला स्रोतमा आधारित नि:शुल्क उपलब्ध हुने अनलाइन र अफलाइन सिकाइ व्यवस्थापन प्रणालीहरू उपयोग गर्ने, गराउने ।

 

अभिभावकको भूमिका: वैकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने सम्बन्धमा अभिभावकको भूमिका देहाय बमोजिम हुनेछ:-

(क)   आफ्ना बालबालिकालाई जीवनोपयोगी, परम्परागत तथा सामाजिक व्यवहार कुशल सीपहरू सिक्न सिकाउन उत्प्रेरित गर्ने,

(ख)   आफ्ना बालबालिकाहरूको अध्ययन, अध्यापनमा निरन्तर सहयोग गर्ने,

(ग)   घर र टोलमा समेत सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्रिय रहने,

(घ)   दफा ३ र ४ बमोजिम आफ्ना बालबालिका तथा आफ्नो बासस्थान क्षेत्र आसपास रहेका विद्यार्थीहरूको पहिचान तथा वर्गीकरणका लागि विद्यालय र स्थानीय तहलाई विवरण उपलब्ध गराउने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्