कोभिड १९ को उपचार थाल्ने ह्याम्प पहिलो निजी अस्पताल, अन्य बिरामीमा सङ्क्रमण सरेमा अस्पताल नै जिम्मेवार रहने : प्रवक्ता देवकोटा – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोभिड १९ को उपचार थाल्ने ह्याम्प पहिलो निजी अस्पताल, अन्य बिरामीमा सङ्क्रमण सरेमा अस्पताल नै जिम्मेवार रहने : प्रवक्ता देवकोटा

    मा प्रकाशित

कनिका डेस्क
जेठ २४, दाङ ।
काठमाडौँ धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना सङ्क्रमितलाई आफै उपचार गर्ने भएको छ । अस्पतालले संक्रमितलाई आफैं आइसोलेसनमा राखेर उपचार थालेको हो । अब ह्याम्स नेपालमा कोरोना संक्रमितको उपचार सुरु गर्ने पहिलो निजी अस्पताल बनेको छ ।
कोरोना सङ्क्रमितको उपचारका लागि नेपाल सरकारले अहिलेसम्म निजी अस्पताललाई औपचारिक अनुमति दिएको छैन ।
ह्याम्समा उपचार गरेका पोखरा र गुल्मीका दुईजना बिरामीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर, गुल्मीका बिरामीमा डिस्चार्ज भइसकेपछि कोरोना पुष्टि भएको हो ।
कोभिड १९ पुष्टि भएका पोखराका ६० वर्षीय पुरुषको अहिले ह्याम्सले उपचार थालेको हो । ती व्यक्तिलाई पाँच दिनअघि पोखराबाट हेलिकोप्टरमा ल्याइएको थियो । संक्रमित व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार लेभल थ्री अनुरुपका सुरक्षा उपकरणसहित उनको सम्पर्कमा गएकाले आइसोलेसनमा राख्न नपरेको अस्पताल स्रोतले जनाएको छ ।
सरकारी कार्यविधिअनुसार कोरोना संक्रमितको सबै उपचार खर्च सरकारले व्यहोर्छ र उपचार पनि निजी अस्पतालमा नभएर सरकारी अस्पतालमै हुन्छ । त्यसैले निजी अस्पतालमा उपचाररत विरामीलाई कोरोना संक्रमण पुष्टि भएमा सरकारी अस्पतालमा लैजानुपर्ने सरकारी प्रावधान छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले के गर्ने भन्ने बारेमा अलमल परेको छ । कोरोना संक्रमण पुष्टि भएका विरामीलाई ह्याम्समा बस्न दिने कि सरकारी अस्पतालमा ल्याउने भन्नेमा मन्त्रालय अलमलमा परेको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले कनिका खबरसँगको संवादमा बिरामी र बिरामीका आफन्तले त्यहीँ उपचार गराउन चाहेकाले अहिले यस्तो अवस्था आएको बताए । प्रवक्ता देवकोटाले भने, ‘‘ कार्यविधिमा सरकारी अस्पतालमा उपचारमा गराउनु पर्ने छ तर बिरामीका आफन्तीले त्यहीँ नै उपचार गराउन चाहनुभएको छ । कोभिड १९का सङ्क्रमितलाई सरकारले निःशुल्क उपचार गर्ने बताएको छ । अब ह्याम्सले के कतिमा उपचार गर्ने हो त्यसको व्यवस्थापन गर्नेछ । हुन त उपचार गराउनेले शुल्क तिर्ने हो, सरकारी अस्पतालमा उपचार भएको खण्डमा मात्र सरकारले व्यहोर्ने हो ।’’ उनले थपे, ‘‘बिरामी निजीमै उपचार गराउन चाहेकोले के गर्ने भन्ने बारेमा मन्त्रालयले कुनै निर्णय गरेको छैन, सम्भवतः अब यस्ता केसको पनि मन्त्रालयले चाँडै नै टुङ्गो लगाउनेछ ।’’ अस्पतालमा उपचाररत अन्य बिरामीमा सङरक्रमण सरेमा त्यसको जिम्मेवारी स्वयम् अस्पताल नै रहने पनि प्रवक्ता देवकोटाले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्