कनिका संवाददाता
जेठ २४, काठमाडौं
अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा विपतका बेला एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ ।
आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै रोक लगाएका हुन् ।
सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले शनिबारै प्राधिकरणलाई तत्काल कडाई गर्न भनेपछि प्राधिकरणले साँझ सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सूचना पठाएको छ । प्राधिकरणले नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको जानकारी प्राप्त भएको जनाउँदै टिकट बिक्री नगर्न नगराउन सूचना जारी गरेको हो । तर मानवीय उद्धार गर्नुपर्ने नै भए सम्बन्धित मुलुकको दुतावासमार्फत् चार्टर उडानका लागि अनुमति माग भएमा मात्रै हुने छ ।
चैत यता १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन् ।