आज रक्षा बन्धन र जनै पूर्णिमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज रक्षा बन्धन र जनै पूर्णिमा

    मा प्रकाशित

भदौ ६, दाङ ।
आज आइतबार हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी परेको छ । जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ। कोभिड १९ को महामारीका कारण सरकारले स्वास्थ्य मापदण्ड अपनाएर धेरै भीडभाड नगरी रक्षा बन्धन मनाउन अपील गरेको छ ।

यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।

यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।

नयाँ जनै फेर्ने

यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको सांस्कृतिविद गोविन्द टण्डनले बताए। उनले भने, ु मन्त्रिएको जनै फेर्ने भएकाले श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भन्ने गरिएको हो।ु उनका अनुसार आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ।

 के छ महत्त्व ?
वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ।  जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ। अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ।

जनैपूर्णीका दिन पितृलाई तर्पण दिने गरिन्छ। यस दिन काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्ने गर्छ।यस दिन पितृलाई तर्पण दिँदा मृत आत्माहरुको मनले शान्ति पाउने विश्वास छ।

क्‍वाँटी तथा भ्यागुताको पूजा

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन्। यस समुदायमा नौवटा गुडागुडी मिश्रण गरिएको क्‍वाँटी खाने प्रचलन छ। पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ। अन्य समुदायका मानिसले जनै फेरेर क्‍वाँटी खाने गर्छन्। टुसा पलाएको पौष्टिक तत्वयुक्त क्‍वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन्।

यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन्।भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो। ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्‍वाँटी दिएर पूजा गरिएको हो।

क्‍वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गुडागुडीको मिश्रणबाट बनेको हुन्छ। यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने भएकाले यस दिन क्‍वाँटी खाने चलन रहेको  छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्